सूचनाको शक्ति - The Power Of Information

        

चिसोसँगै मौसमी फ्लुका बिरामी बढ्दै

बाँके । केही दिनयता नेपालगन्जमा चिसो बढ्दै गएको छ । चिसोका कारण अस्पतालहरूमा मौसमी फ्लुका बिरामीहरू बढ्दै गएका छन् । भेरी अञ्चल अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट संक्रमित भएर आउने बिरामीहरूको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक २० देखि २५ जना बढी रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो तथा ब्रोङ्काइटिसको समस्या लिएर अस्पताल आउने बिरामी बढ्दै गएको अस्पतालका चिकित्सकहरु बताउँछन् । चिसो बढेसँगै अस्पतालमा चिसोका कारण हुने फ्लुको संक्रमणबाट संक्रमित हुने बिरामीको संख्या बढ्न थालेको छ ।
युवा तथा वृद्धहरू रुघाखोकी ज्वरो तथा दमबाट संक्रमित हुने धेरै छन् । बालबालिकामा कोल्ड डायरियाका समस्या भएकाहरू धेरै छन् । यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा समेत चिसो बढेसँगै छाती दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको अस्पतालको मेडिसिन विभागले जानकारी दिएको छ ।
अस्पतालमा आउने धेरै बिरामीहरू घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने तथा अन्य छातीसम्बन्धी समस्या लिएर आउने गरेको भेरी अञ्चल अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डे बताउँछन् । ग्रामीण भेगबाट आएका बिरामीहरू लामो समयसम्म आगोमा खाना पकाउने महिला र अत्यधिक चुरोट सेवन गर्ने ६० वर्षमाथिका वृद्धवृद्धाहरूलाई चिसोको कारण झन् समस्या भएर आएको पाइएको उनले बताए ।
अहिले अस्पताल आउने बिरामीमध्ये करिब ६० प्रतिशत चिसोका कारण बिरामी हुने गरेको चिकित्सकहरूको सुझाव छ । सकेसम्म मर्निङ वाक नजानु नै राम्रो हुने चिकित्सकहरूको सुझाव छ । चिसोको कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले शरीरलाई सकेसम्म चिसोबाट जोगाउनुपर्ने चिकित्सकहरूको भनाई छ ।
चिकित्सकहरूका अनुसार दिउँसो घरबाहिर निस्किँदा पनि मास्क लागाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्ने, छाती दुख्ने तथा श्वाश फेर्न गाह्रो हुने समस्या बढ्दै गए, घ्यारघ्यार हुँदै गएमा सकेसम्म चाँडो चिकित्सक कहाँ जानु राम्रो हुन्छ । चिसोले दीर्घ रोग लाग्नुभन्दा संक्रमणहरूलाई बढाउने हुँदा दीर्घ रोगको समस्या झेल्दै आएकाहरूले सकेसम्म आफूलाई चिसोबाट जोगाउनु राम्रो हुने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : १ पुष २०७५, आइतवार १३:२४