बाँके । बाँके जिल्लामा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७८० लिटर दुध उत्पादन हुन्छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग घट्दै गएको छ ।
किसानले विभिन्न खरिद केन्द्रमा जम्मा गरेको दुध कोहलपुरको पिपरी स्थित दुग्ध विकास आयोजनाले खरिद गरेर ल्याउने गरेको छ । सो का लागि ठाउ ठाउमा खरिद केन्द्र स्थापना गरिएका छन् । पशु कार्यालयका अनुसार जिल्लाबाट दैनिक तीन हजार लिटर दुध राजधानी मेत जाने गरेको छ । यातायातको असुविधाले नेपालगन्ज ल्याउन नसक्दा जिल्लाको विकट तथा राप्तीपारिको क्षेत्रबाट दैनिक एक हजार लिटर दुध भारतमा बिक्री हुने गरेको छ ।
जिल्लाको फत्तेपुरमा १ हजार ६०० लिटर बराबरको दुधबाट खुवा बनाएर बिक्री गरिन्छ । भारतबाट पनि अझै राम्रै परिमाणमा दुध आयात भैरहेको छ । दुग्ध उत्पादक किसान संघ बाँकेका अनुसार किसानको जीवनस्तर माथि उकास्ने हो भने सरकारी अनुदानको दायरा बढाएर दुधको उचित मुल्य निर्धारण गर्नुपर्छ । दुध ब्यबसायबाट किसान तल पर्दै गएको र दुध खरिद गर्ने व्यवसायी भने मोटाउदै गएको किसानको गुनासो छ ।
दुधमा रहेको चिल्लोको मात्रा अनुसार मुल्य निर्धारण गरिने गरिएको पशु सेवा कार्यालयले जनाएको छ । अहिले किसानले पाइरहेको मूल्य धेरै कम र धेरै बढी पनि दुबै नरहेको ठहर गर्दै मूल्य बृद्धिको पक्षमा आफु पनि रहेको कार्यालयको भनाई छ । बाँकेमा रहेका सहकारीले मात्रै निक ८ हजार ५०० लिटर दुध उत्पादन गर्ने गरेको संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीले जानकारी दिए । बाँकेमा ४०९ सहकारी संस्था रहेका छन् । यी सहकारीमा १ लाख ६५ हजार सदस्य रहेका छन् ।
सत्यपाटी - ।