सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा आजदेखि सरसफाइ महाअभियान

बाँके । नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नेपालगन्जमा भोलिदेखि सरसफाइ महाअभियान शुरु हुँदैछ । महाअभियानमा सहभागी हुने व्यक्तिले छ मिटरको क्षेत्र सफा गर्नुपर्नेछ ।
प्रत्येक वडा कार्यपालिकाले आफ्नो वडाका सङ्घसंस्थालाई परिचालन गरी वडा सफा गर्नुपर्ने महाअभियानको उद्देश्य रहेको उपमहानगरका सूचना अधिकारी शरद पौडेलले बताए । महाअभियानका क्रममा नेपालगन्जको राँझाचोकदेखि नेपालगन्ज बजारका विभिन्न चोक तथा अन्य २० स्थानमा सरसफाइ गरिनेछ ।
महाअभियानमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह, विद्यालय, नेपाल प्रहरीलगायतको सहभागिता हुने सूचना अधिकारी पौडेलले बताए । नेपालगन्जमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाले सरसफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी जनचेतना तालीम दिन थालेको छ ।
परियोजना कार्यान्वयन एकाइले नेपालगन्जमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत जनचेतना तालीम दिन लागेको हो । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकाको १८ वटा वडामा स्थानीयका लागि एक/एक दिनको टोल बस्तीस्तरीय सरसफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी जनचेतना तालीम दिइनेछ ।
बिहीबार वडा नं २३ का वडावासीलाई तालीम दिइएको छ । मदन झा, राजन श्रेष्ठ र डा जनार्दन आचार्यले सहभागीलाई प्रशिक्षण दिएका थिए । तालीम शुभारम्भका अवसरमा नगर प्रमुख डा धवलशम्शेर राणाले नागरिकको सहभागिता र सहयोगले मात्र नेपालगञ्जलाई फोहरमुक्त बनाउन सकिने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार ०६:५४