बाँके । महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भएपछि अहिले महिला तथा बालबालिका कार्यालय बाँके जिम्मेवारीविहीन भएको छ । कार्यालयको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारी समेत जिम्मेवारीविहीन भएका छन् ।
सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले कार्यालयमा कुनै पनि कार्यक्रम नभएको महिला विकास अधिकृत शोभा शाहले बताइन् । स्थानीय निकायका विभिन्न स्थानमा कार्यालयको प्रतिनिधित्व हुने र स्थानीय तहमा गएका सम्पत्तिको विवरण राख्ने बाहेक अरु काम अहिले नभएको उनले जानकारी दिइन् ।
उनले भनिन् ‘राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यनीति बनाउन लागेकाले त्यो कार्यक्रम पछि यहाँ आउला अरु कार्यक्रम अब सिधैँ स्थानीय तहमा नै जान्छ ।’ संघीयता कार्यान्वयन हुनुभन्दा पहिले कार्यालयमा भएको कर्मचारी दरबन्दीमा पनि कटौती भएको छ ।
तीमध्ये कतिपय कर्मचारी व्यवस्थापनका लागि मात्रै यहाँ रहेको उनले बताइन् । ‘अहिले यहाँ भएका कर्मचारीको केही काम छैन,’ कार्यालय प्रमुख शाहले भनिन्, ‘कार्यालयमा कुनै कार्यक्रम नभएपछि कार्यालय सुनसान देखिन थालेको छ ।’
सत्यपाटी - ।