सूचनाको शक्ति - The Power Of Information

        

अनुज्ञापत्र लिने साना उद्योगको संख्या बढ्दै

बाँके । साना उद्योगहरुले पनि गुणस्तर परिक्षणका लागि अनुज्ञापत्र लैजाने क्रम बढेको छ । बाँके, बर्दिया, सुर्खेत र दाङका सानो लगानीका ब्यवसायीहरुले आफ्नो उद्योगबाट उत्पादन हुने हरेक सामग्रीहरुको गुणस्तर परिक्षण गरी अनुज्ञापत्र लैजानेको संख्या बढ्दै गएको खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी बिनोद श्रीबास्तवका अनुसार, चालु आर्थिक बर्षको पहिलो दुई महिना साउन र भदौमा मात्र १२१ उद्योगहरुले अनुज्ञापत्रका लागी आवेदन दिएका छन् । खाद्य उद्योग, तेल, मह लगायतका उद्योगहरुले अनुज्ञापत्रका लागी आवेदन र्दिको श्रीबास्तवले जानकारी दिएका छन् ।
खाद्य उद्योगको गुणस्तर सम्बन्धी अनुज्ञापत्र ठूला उद्योगले मात्र लिने गरेको पाइएपनि केही बर्षयता साना उद्योगहरुले पनि अनुज्ञापत्र लिने क्रम बढेको हो । उद्योग सञ्चालनमा आएर बजारमा उत्पादन ल्याउनुपूर्व गुणस्तर चेकजाँच गरी अनुज्ञापत्र लिनुपर्छ । मध्यपश्चिमका १५ जिल्ला हेर्दै आएको उक्त कार्यालयका अनुसार अनुज्ञापत्र लिनेमा सबैभन्दा बढी खाद्यान्न, दलहन, दूध तथा दुग्धपदार्थ, पानी प्रशोधन, तेल घिउ, मसला, मह प्रशोधनलगायत उद्योग छन् ।
सुगम जिल्लाका उद्योगले बर्सेनी अनिवार्य रूपमा नवीकरण गरेका छन् । पछिल्लो समय विभिन्न जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयले पनि अनिवार्य अनुज्ञापत्रको प्रावधान कडाइका साथ लागू गरेकाले त्यस क्षेत्रका उद्योग निरन्तर नवीकरण भइरहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १६:५८