बाँके । नेपालगन्जबाट ठूलो मात्रामा कालो मरिचको तस्करी हुँदै आएको खुलासा भएको छ । नेपालगन्जबाट दशगजासँग जोडिएको गाउँमा लगेर मरिच थुपार्ने र रातिको समयमा भारततिर पास गर्ने गरेको पाइएको हो । यस्तो धन्दामा नेपाल र भारतका तस्करहरु मिलेका छन् ।
कालो मरिच र कस्मेटिक सामान नेपालबाट भारततर्फ जाने गर्दछ । भारतबाट कपडा लगायतका सामान ल्याउने गरिन्छ । विशेष सूचनाका आधारमा बिहीबार राती नेपालगन्ज प्रहरीले नाकामा रहेको जमुनाहा गाउँबाट १२ क्विन्टल बढी कालो मरिच र ६ पेटी कस्मेटिक सामान बरामद गरेको छ ।
अवैधरूपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ बाट एक हजार २०५ पाँच किलो अवैध कालो मरिच मरामद गरेको हो । अवैधरुपमा कालो मरिच भित्रिरहेको भन्ने सूचनाको आधारमा जाँच गर्दा कालो मरिच मरामद भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।
उनका अनुसार, वडा प्रहरी कार्यालयको टोलीले एक हजार ६८० पिस लेडिज फाउन्डेशन क्रिम पनि मरामद गरेको छ । जमुनाहा गाउँको छोट्टन कवाडिया राई, साहीद कवाडिया राई, लोटाराम खटिक र लज्जी खटिकको घरगोठबाट कालो मरिच र कस्मेटिक सामान बरामद भएको छ । यी सबै सामान नेपालगन्जबाट अटोरिक्सामा लगेर जम्मा पारिएको थियो ।
त्यहाँबाट रातीको समयमा ‘पायक’ पर्दा भारततर्फ तस्करी गर्ने योजना थियो उनीहरुको । कालो मरिच तस्करीमा जयसपुरका भौखी र भारत रुपैडिहाका नन्कौ, तिलकराम धोवी, सोनी पाठकलगायत संलग्न रहेको स्रोतले बतायो । प्रहरीले कालो मरीज र क्रिम बरामद गर्दा भौखी त्यही उपस्थित थिए । प्रहरीले ‘भौखी को हो ?’ भनेर खोजी थालेपछि उनी त्यहाँबाट लुसुक्क भागेका थिए ।
वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज डाँगीले कालो मरीचमा ठूला व्यक्ति संलग्न रहेकाले उनीहरुको खोजी गरिरहेको बताए । यस्तै प्रहरीले ५२८ मिटर काचो कपडा, लेडिज सुट र पर्दाको कपडा पनि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बरामद भएका सम्पूर्ण सामान कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।
सत्यपाटी - ।