सूचनाको शक्ति - The Power Of Information

        

आगामी बर्षदेखि खजुरामै पाठ्यपुस्तक छापिने, मुद्रणालय निर्माण तीव्र

बाँके । जनक शिक्षा सामाग्री केन्द्रले बाँकेको खजुराबाटै आगामी वर्षदेखि किताव छपाई गर्ने तयारी गरेको छ । काठमाडौं बाहिर केन्द्रले प्रादेशिक मुद्रणालय खजुरामा बनाई रहेको हो । हुन त यो मुद्रणालय बन्न थालेको दशक पूरा भइसकेको छ । आगामी वर्षदेखि छपाईको गर्ने आशा बढेको छ ।
अहिले मुद्रणालय बनाउने काम धमाधम काम भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा छुट्टयाइएको एक करोड १२ लाख रुपैयाँले अहिले त्यहाँ काम भइरहेको छ । ‘वेभ मेसिन’ राख्नका लागि दुई वटा गोदाम भवन बनिरहेको छ । जनक शिक्षाको यो छापाखानाको काम एक दशक रोकियो । बजेट नै नआएकाले काम अघि बढेन ।
छिटोछिटो सरकार परिवर्तन हुने र जिल्लाबाट बजेट नै छुट्याउन सक्ने गरी नेताहरुले दबाब दिन नसक्दा काम रोकिन पुग्यो । बीचमा काम रोकिए पनि जनक शिक्षाको यहाँ छापाखाना राख्ने दूरगामी योजना भने २०५८ सालतिरकै हो । जनक शिक्षाका तत्कालिन प्रवन्ध सञ्चालक रमेशनाथ जोशीले पुनर्बास कम्पनीसँग चार विगाह जमिन खरिद गरेर छापाखानाको प्रक्रिया अघि बढाएका थिए ।

जोशीलाई तत्कालै मन्त्रालयमा नतानेको भए योजनाले छिट्टै मूर्तरुप लिन सक्थ्यो । २०६३/६४ मा आएर त्यहाँ दुई तले प्रेस भवन बन्यो । त्यसपछि छापाखानाका लागि बजेट निकासा भएन । २०७४ असार १४ गते स्थानीय निकायको चुनाव भएपछि जनप्रतिनिधि आए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले छिटो छापाखाना बनाउन दबाब बढाए ।
छापाखाना बनाउन समय लाग्ने हो भने त्यो भवन गाउँपालिकाको कार्यालय राख्न दिन पत्र नै आयो । केन्द्रको नेपालगन्ज कार्यालय हुँदै यस्तो व्यहोराको पत्र काठमाडौंसम्म नै पुग्यो । अन्ततः जनक शिक्षाले द्रुतगतिमा काम गरेर २०७६ को शैक्षिक सत्रका लागि पाठ्यपुस्तक यहीबाट छाप्ने तयारी अघि बढायो ।
जनक शिक्षा सामाग्री केन्द्र, नेपालगन्जका प्रमुख रविन्द शर्माले २०७६ को शैक्षिकसत्रदेखि ५, ६ र ७ नम्बर प्रदेशलाई पुग्ने किताव छाप्ने तयारी भएको बताए । ‘कार्यालय प्रयोजनका लागि भवन बनिसकेको छ । मेसिन र कागज राख्नका लागि दुई वटा गोदाम भवन बनिरहेका छन्, त्यसमा अब छानो राख्न बाँकी छ,’ शर्माले भने ।

उनका अनुसार कम्पाउण्डवाल, पालेघर, भित्री बाटो पिच र पुस्तक उत्पादन गर्ने काम बाँकी रहन्छ । उनले अब रु.१५ करोड रकम भए पुग्ने आँकलन गरिएको बताए । सरकारले एकदेखि पाँच कक्षासम्मको किताव छाप्ने अधिकार निजी क्षेत्रलाई दिएको छ । जनक शिक्षाको ६ देखि १० कक्षासम्मको किताव छाप्ने एकाधिकार रहेको छ ।
उसले एकदेखि पाँचसम्मको पनि किताव छाप्न भने छोडेको छैन । खजुराको छापाखाना सञ्चालन गरेर ५, ६ र ७ नम्बर प्रदेशलाई किताव पु¥याउने शर्माले बताए । उनका अनुसार, यी तीन प्रदेशमा ८० लाख थान पुस्तक आवश्यक पर्छ । खजुराको छापाखाना सञ्चालन गर्नका लागि अहिलेका प्रवन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेना लागि परेका छन् ।
प्रमुख शर्माका अनुसार, रमेशनाथपछि खजुराको छापाखाना सञ्चालनका लागि बढी महत्व दिनेमा अहिलेका प्रवन्ध सञ्चालक तिमिल्सेना पर्छन् । जनक शिक्षाले सात वटै प्रदेशमा छापाखाना राख्ने योजना बनाएको छ । सबैभन्दा पहिला भने खजुराबाट पुस्तक छपाई शुरु हुने देखिएको छ । खजुरामा पुस्तक छपाई हुँदा जनक शिक्षालाई किताबको लागत कम पर्छ ।

‘दोहोरो ढुवानी खर्च कम हुन्छ भने यातायातको झन्झट अन्त्य हुन्छ । समयमा किताव नआउने समस्या समाधान हुन्छ । खजुरामा छापाखाना भएपछि जनक शिक्षालाई मात्रै होइन, गाउँपालिकालाई फाइदा हुन्छ । स्थानीयले रोजगार पाउँछन् भने अरु उद्योग आसपासमा थपिन्छन्,’ केन्द्र प्रमुख शर्माले भने, ‘एक सय बढीले रोजगारी पाउनेछन् ।’
छापाखाना सञ्चालनका लागि जनप्रतिनिधि जत्तिकै स्थानीय रामेश्वर कँडेल लागि परेका छन् । छापाखाना सञ्चालन हुने बित्तिकै खजुराको विकासमा टेवा पुग्ने कँडेलको धारणा रहेको छ । क्यान्सर अस्पताल, जनक शिक्षाको छापाखानाजस्ता संरचनाले खजुरा गाउँपालिकाको ‘सान’ बढाउने स्थानीय प्रकाश उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १४:१८