सूचनाको शक्ति - The Power Of Information

        

सात मन्त्री फेरिएसँगै सात निर्देशक !

राजनीतिक दलहरुको भर्ती केन्द्र बनेको सिक्टा

बाँके । सिक्टा सिंचाई आयोजना सधैँ राजनीतिक दल, मन्त्री, सांसद र पत्रकारको ‘दुहुनो गाई’जस्तै बन्दै आएको छ । तत्कालीन सिँचाइ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिलान्यास गरेको सिक्टामा त्यसयता फेरबदल भएका विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक राख्दै आएका छन् ।
मन्त्री फेरिएसँगै सिक्टाको प्रमुख पनि फेरिने प्रवृत्तिको हाबी भएको छ । यसले पनि आयोजना निर्माणमा ढिलाई र आर्थिक अनियमितता बढाएको हो । शुरू चरणमा आयोजना निर्देशक बनेका कृष्णराज तिमिल्सिनादेखि अहिलेसम्म थुप्रै निर्देशकहरू बदलिएका छन् ।
तिमिल्सिनापछि सर्वदेव जैसवाल, दीलिप कार्की, सरोज पण्डित, रमेश बस्नेत, महेश्वरनरसिंह केसीले निर्देशकको जिम्मेवारी पाएका थिए । अहिले पुनः बस्नेत निर्देशकको जिम्मेवारीमा छन् । आयोजना निर्देशक बन्न कर्मचारीले राजनीतिक पहुँचलाई सधैँ प्रयोग गर्दै आएका छन् ।
मन्त्रीहरूले आफ्नो अनुकूल आयोजना चलाउने, निकटका ठेकेदारलाई ठेक्का दिएर आर्थिक फाइदा लिने, आफू मन्त्री पदमा रहँदासम्म आफ्ना पार्टीका नेता, कार्यकर्तालाई सवारी साधन, इन्धन दिलाउनेदेखि जागिर खुवाउने सम्मका क्रियाकलाप गर्ने गरेका छन् । मन्त्रीकै आडमा सिक्टाभित्र जागिर खाने दलका कार्यकर्ता अहिले पनि थुप्रै संख्यामा रहेको आयोजनाले बताएको छ ।

सिक्टाको माटो निरीक्षण
अस्ट्रेलियन विज्ञ टोलीले मंगलबारदेखि सिक्टा सिँचाइ आयोजना पश्चिम मुल नहरमा प्रयोग भएको माटो निरीक्षण गरेको छ । दुई जना सहभागी रहेको उक्त टोलीले घुलनशिल माटो अत्यधिकरुपमा प्रयोग भएको ओभरी र बालापुर क्षेत्र तथा अगैयामा रहेको आयोजनाको हेडवर्क निरीक्षण गरेका हुन् । आयोजनाका निर्देशक कृष्ण नेपालका अनुसार उक्त टोलीले मुल नहरमा प्रयोग भएको घुलनशिल माटोलाई सुक्ष्म रुपले अध्ययन गरेको थियो ।
उनले भने, ‘घुलनशिल माटोपनि समस्याको रुपमा आइरहेको कुराको जानकारी आयोजना कार्यालयले गराएपछि स्थलगत निरीक्षणका लागि उहाँहरु आउनुभएको हो ।’ सिक्टा नहरको १७ दशमलव ७ किलोमिटरदेखि ३५ किलोमिटरसम्मको बीचमा पर्ने बालापुर–झिझरी खोलासम्मको ५ किलोमिटर क्षेत्रमा घुलनशिल माटो बढी मात्रामा प्रयोग भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयले अष्ट्रेलियन विज्ञहरुको नाम र संस्थासमेत खुलाएको छैन । अष्ट्रेलियन विज्ञहरुको टोलीले नै आफ्नो नाम र संस्थालाई गोप्य राखेका छन् । आयोजना कार्यालयले घुलनशील माटोका कारण उत्पन्न समस्याबारे ‘अस्ट्रेलिया–नेपाल कोअपरेसन’ नामक संस्थालाई जानकारी गराएको थियो । उक्त संस्थाकै समन्वयमा विज्ञ टोली नेपाल आएको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार १४:४७