कुमार श्रेष्ठ । बाँके । साउनको ९ गते सीमा प्रहरी चौकी, जयसपुरमा सानोतिनो मेला नै लाग्यो । जिल्ला न्यायाधीश, नेपालगन्ज उपमहानगरपालिकाका उपमयेयर, प्रमुख जिल्ला अधिकारी, एसएसपी, एसपी, उद्योग वाणिज्य संघका अध्यक्षलगायतको जमघट थियो । त्यो जमघट प्रहरीको हरियाली अभियानले जुटाएको थियो ।
सीमा प्रहरी चौकीको मातहतमा रहेको करिव डेढ विगाह जमिनमा वृक्षारोपण गरिँदै थियो । गन्यमान्य व्यक्तित्वहरुले विभिन्न जातका बिरुवा रोपे । जिल्ला न्यायाधीश विष्णु सुवेदी, उपमेयर उमा थापा, तत्कालीन प्रजिअ रमेश केसी, एसएसपीद्वय घनश्याम अर्याल र देवबहादुर बोहरा, एसपी टेकबहादुर तामाङ, उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एक–एक वटा बिरुवा रोपे ।
आँप, लिची, अनार, अम्बा, सागुन, निबु रोपेर गन्यमान्य व्यक्तित्वहरुले फलाएर ‘खाने’ आशय व्यक्त गरे । तर, दुर्भाग्य । डेढ विगाहमा रोपिएको एक हजार विरुद्धमा एउटा पनि बचेन । बिरुवा रोपेको केही दिन हरियाली देखिएको सीमा प्रहरी चौकीको परिसर अहिले उजाड भइसकेको छ । बिरुवा बचाउन तारबार गरिए पनि आवश्यक मलजल नपुर्याउदा गन्यमान्यहरुले खानेको भनेको फल नै लाग्न पाएन ।
बिरुवा नै नबचेपछि फल कहाँबाट लाग्नु ? सीमा प्रहरी चौकी जयसपुरमा फलफूलको बिरुवा रोपेको यो नै पहिलो होइन । त्यसअघि पनि त्यहाँ त्यसैगरी तामझामका साथ बिरुवा रोपिएको थियो । बिरुवा रोप्ने र स्याहार नगर्ने काम चलिरहेको छ । सीमापछि प्रहरीले यसरी नै तामझाम गरेर इलाका प्रहरी कार्यालय जमुनाहाको परिसरमा फलफूलको बिरुवा लगायो । त्यहाँ अहिले केही बिरुवा देख्न सकिन्छ । बिरुवा रोप्न बनाएका धेरै ड्याङ त खाली नै भइसकेको छ । यी दुई ठाउँका घटनाले प्रहरीले बिरुवा बचाइहाल्छ नि भन्ने स्थानीयको भनाई मिलेको छैन ।
त्यसो त स्थानीय पनि प्रहरीले बिरुवा रोपेकाले बाख्रा, गाइहरु जाने बित्तिकै कारबाहीमा परिन्छ भनेर सतर्क भएका थिए । स्थानीयले त्यस्तो डर धेरै महिना मान्नु परेन । स्याहार नपाएर बिरुवा आफैँ मरे । ‘सडकमा बसेर भारतबाट सामान बोकेर आएका मान्छेलाई चेक गर्ने कि, बिरुवामा पानी हालेर बस्ने ?’ प्रहरीलाई गाह्रै थियो । थोरै जनशक्ति र त्यसमा पनि सडकमा जाँचमा बस्नु पर्ने बाध्यताले गर्दा बिरुवाको स्याहार हुन नसकेको त्यहाँका अधिकारीहरु बताउँछन् ।
रुख रोपेर मात्रै हुँदैन, त्यसलाई स्याहार गरेर हुर्काउन गाह्रै हुन्छ । हाकिमहरुको लहडका भरमा विरुवा रोपिहाल्ने र पछि मासिदासम्म उनीहरु अर्कै जिल्लामा गइसक्ने घटनाक्रमले देखाएको छ । एक स्थानीयले भने, ‘यद्यपि, उनीहरुले बसुञ्जेल राम्रै गर्न खोजेकोमा दुई मत छैन, जयसपुरको हरियाली अभियानले भने प्रहरीलाई जिस्क्याइरहेको छ ।’
#देश सञ्चार
कुमार श्रेष्ठ - ।