बाँके । पश्चिम राप्ती नदीको पानीबाट बाँकेमा सिँचाइ पुर्याई कृषि उत्पादनसँगै आर्थिक विकासमा इँटा थप्ने उद्देश्यले सुरु गरिएको सिक्टा सिँचाइ आयोजना सुरु भएसँगै समृद्धिका सपना बोकेका बाँकेबासी निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि बाँकेबासी निराश बनेका हुन् ।
४३ बर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण सुरु भएको भने १३ बर्षमात्रै भयो । हालसम्म पनि निर्माणको चरणमै रहेको आयोजना परिक्षणका क्रममा भत्किएपछि बाँकेबासीमा अन्यौलता छाएको छ । मनिकापुरका किसान नबुदिन यादव भन्छन्, ‘नहरबाट पानी आउँछ र हामीले गरेको खेतीबाट आम्दानी बढ्ला भनेको भत्किेर गयो । अब कहिले बन्छ र हामीले खेतबारीमा पानी हाल्न पाउने हो कुन्नी ?’
बाँकेको अगैयामा बाँध निर्माण गरी सिँचाइका लागि पानी लैजान दुई भागमा निर्माण अघि बढाइएको सिक्टा सिँचाइको नहर परिक्षणकै क्रममा भत्किएको छ । पानी लैजान राप्तीवारि ४५.२५ किलोमिटर र पारि ५३.५० किलोमिटर मूल नहर निर्माणकै चरणमा छ । मुख्य बाँधसहित वारिपट्टीको मूल नहरको काम पूरा भइसकेको छ । वारिपट्टीकै नहरमा पानी बगाएर परिक्षण गर्ने क्रममा ठाउँ–ठाउँमा भत्कियो । नहर भत्किएसँगै बाँकेबासीले देखेका सपनाहरु पनि भत्किएका छन् ।
‘पानी लैजाने क्रममा समस्या आयो, नहर नै फुट्यो । आयोजनाको लापरबाही र ठेकेदारले कमजोर संरचना निर्माण गरेकाले समस्या आयो । यसको जिम्मेवार को हुने ?,’ राप्तीसोनारी–२ का वडाध्यक्ष मदन वलीले भने, ‘अब आयोजनाको भविष्य के हुने भन्नेमा राज्यले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।’ दायाँ भागको २० देखि ३५ किलोमिटर खण्डबाट पानी लैजाने क्रममा पहिलो पटक २०७३ असार १४ गते नहर भत्किएको थियो ।
वडाध्यक्ष वलीले अधिकांश मूल नहर निर्माण कार्य सकिएको केही समयमै भत्किएको बताए । ‘निर्माण सुरु गर्दा हामीले काम गुणस्तरहीन काम भयो भनेर आवाज उठाएका थियौं,’ वलीले भने, ‘त्यतिबेला हाम्रो कुरालाई बेवास्ता गरियो । अहिले ठूलो समस्या आयो ।’ उनका अनुसार मूल नहरको २४ किलोमिटर भाग जीर्ण भइसकेको छ । ठेकेदारले छड र अन्य निर्माण सामग्री पनि कमसल प्रयोग गरेको स्थानीयहरुको भनाइ छ ।
अहिलेसम्म यसको ५७ प्रतिशत मात्रै काम सकिएको छ । अझै ६३ प्रतिशत काम अधुरै छ । आगामी दुई वर्षभित्रै बाँकेका किसानका खेतबारीमा पानी पु¥याउने आयोजनाको लक्ष्य छ । निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाको लागत बढदै गएको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो ।
आयोजनाका अनुसार दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण वर्षामा नहरमा क्षति हुने गरेको छ । दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखांकन गर्दा चेनेज २० देखि ३५ किलोमिटरसम्म नहर अत्याधिक कटिङ तथा फिलिङमा रहेको जनाइएको छ । त्यसको विकल्पको अध्ययन गरी हालको रेखांकन छनोट गरिएको आयोजनाको भनाई छ । नहरको करिब ३५ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनाको ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो । कालिकाले बनाएको नहरको खण्ड किसानको खेतमा पानी नपुग्दै भत्किएको छ । सर्वाधिक बिग्रिएको ०–३५ किलोमिटर खण्डको मूल नहर अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा पर्ने भएकाले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको स्थानीयको भनाइ छ ।
ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गर्दासमेत अनुगमन र निगरानी गर्ने जिम्मा लिएको सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर र परामर्शदाताले बेवास्ता गरेको स्थानीयको आरोप छ । हाल ३६ हजार हेक्टरमा धान खेती भइरहेको बाँकेमा यो आयोजना सम्पन्न भए त्यो बढेर ५० हजार हेक्टर पुग्ने विश्वास गरिएको थियो । आकाशे पानीको भर, मल बिउ र जनशक्ति अभावले धान खेतीमा समेत ह्रास आएको छ ।
‘राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाप्रति सरकारले नै बेवास्ता गरेको छ । नहर भत्किएपछि सरकारका तर्फबाट ठोस पहल हुन सकेको छैन,’
मुल नहर परीक्षण गर्दा ढकेरीस्थित झिझरी खोलाछेउमा भत्किएको थियो । दुई वर्षसम्म नहर परीक्षण पनि बन्द भयो । यसवर्ष फेरि परीक्षण गर्न खोज्दा ७ साउनमा ढकेरीनजिकको चंगाई नालाछेउमा फेरि मुल नहर भत्कियो । ५० क्युमेक्स क्षमताको मुल नहरले १० क्युमेक्स पानी पनि थेग्न सकिरहेको छैन । सामान्य पानी थेग्न नसक्नुले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न खडा भएको बाँकेबासीहरुले बताउँदै आएका छन् ।
निर्माणाधिन अवस्थामै रहेको आयोजना परिक्षणकै क्रममा भत्किएपछि यसको भविष्य अनिश्चित बनेको छ । सिक्टामा करिब १३ वर्षको अवधिमा करिब ६० प्रतिशतमात्र कार्यप्रगति भएको आयोजनाले जनाएको छ । ब्यारेजदेखि पश्चिम मुल नहर सम्पन्न हुँदा हालसम्म १४ अर्ब ७० करोड रूपैयाँ खर्च भइसकेको छ । दोस्रो गुरुयोजनाअनुसार आर्थिक वर्ष ०७६÷७७ सम्म आयोजना सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ ।
कमसल निर्माणका कारण परीक्षणमै आयोजनाको मुल नहर पटक पटक भत्किने समस्या दोहोरिएपछि बाँकेबासी मात्रै नभएर आयोजना कार्यालय पनि अन्यौलमै छ । मुल नहरको निर्माण कालिका कन्स्ट्रक्सनले गर्दै आएको छ । उक्त कम्पनी पूर्वमन्त्री तथा ठेकेदार विक्रम पाण्डेको हो । ‘गलत डिजाइनले नहर निर्माण गर्दा समस्या भएको हो । यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ । निर्माणमा संलग्न सबै पक्षलाई छानविनको दायरामा ल्याउनुपर्छ,’ वडाध्यक्ष वलीले भने ।
समस्याको गहिराइमा पुगेर समाधान गर्नेतर्फ सरकार तथा राजनीतिक दल नै अग्रसर नदेखिएको स्थानीयको आरोप छ । ‘राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाप्रति सरकारले नै बेवास्ता गरेको छ । नहर भत्किएपछि सरकारका तर्फबाट ठोस पहल हुन सकेको छैन,’ नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले भने, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति बनाएर छानबिन गरी प्रतिवेदन पेस गरेको छ । त्यसमा अहिलेसम्म छलफल भएको हामीले सुनेका छैनौं ।’
समितिको प्रतिवेदनमा मूल नहरमा देखिएको समस्याको मुख्य कारण माटोको घुलनशीलता भएको उल्लेख गरिएको छ । सिँचाइसँग सम्बन्धित अन्य आयोजनामा यस किसिमको माटो नदेखिएको सन्दर्भमा डिजाइन तयार गर्दा अन्यत्र सरह माटो परीक्षण भए पनि घुलनशीलताको परीक्षण नगरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले उच्च माटो कटिङ भएका र भरिएका ठाउँमा बर्खाको पानी पर्दा घुलनशील भाग पानीसँगै बगेर जाने पनि उल्लेख गरेको छ ।
खोलामा बग्ने पानीको तुलनामा बर्खाको पानीमा सोडियम (नुन)को मात्रा बढी हुने हुँदा त्यसमा माटो घोल्न सक्ने क्षमता उच्च भएकाले समस्या देखिएको प्रतिवेदनमा लेखिएको छ । समस्या र समाधान समितिले प्रतिवेदन पेस गरे पनि समस्या समाधानको विषय बाहिर ल्याएको छैन । आयोजना निर्माणमा समस्या देखिएपछि त्यसको समाधानका लागि सरकारले नै गम्भीररुपमा लिन सकेको छैन ।
गौरवको सूचीमा राख्ने तर यसको अर्थ, महत्व र औचित्य के हो भन्नेमा सरकार सञ्चालक नै अनभिज्ञजस्तै देखिएको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर प्रकाशबहादुर कार्कीले बताए । आयोजनामा देखिएको समस्याको समाधान यही हो भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको कार्कीको भनाइ छ । मुल नहर निर्माण गर्ने क्रममै स्थानीयस्तरबाट घुलनशील माटो प्रयोग नगर्न बारम्बार आग्रह गरिएको थियो ।
स्थानीयस्तरबाट आएको आवाज आयोजनाले वास्ता गरेन । ‘हामीले त उतिबेलै नहरमा पटान गरेको माटो ठीक छैन, यसले भविष्यमा सिक्टालाई असफल बनाउँछ भनेका हौं,’ ढकेरीका भाइराम वली भन्छन्, ‘हाम्रो कुरालाई वास्ता गरिएन, अहिले नहरको हालत हामीले भनेजस्तै भयो ।’ पानी छाड्ने बित्तिकै भत्किने नहरले ढकेरी गाउँलाई उच्च जोखिममा पारेको छ । गाउँको सतहभन्दामाथि पटान गरिएको घुलनशील माटो बगेर नहर भत्किने जोखिम छ ।
पटान गरिएको माटो घुलनशील भएको र ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका कारण नहरको संरचना कमजोर हुन पुगेको स्थानीय बासिन्दाको भनाइ छ । अगैयास्थित ब्यारेजदेखि ३५ किमिसम्म मुल नहरको संरचना जताततै चर्किएको छ । मुल नहरको दायाँ र बायाँ भित्ता चर्किएर दरार परेको प्रष्ट देखिन्छ । यिनै दरारबाट पटक–पटक नहर फुटिरहेको छ । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित ब्यारेजदेखि ३५ किमि मुल नहरका अधिकांश भाग चर्किएका छन् ।
मुल नहरका स्लोपहरू कतै चर्केका छन् भने कतै दबेर भासिएका छन् । सिक्टा आयोजनामाथि किसानको ठूलो भरोसा रहेकाले यसमा देखिएको अन्योल हटाउनुपर्ने राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी बताउँछन् । उनी भन्छन्, ‘पटक–पटक किन समस्या देखिइरहेको छ, यसको समाधान छिटोभन्दा छिटो हुनुपर्छ ।’
सत्यपाटी - ।