सूचनाको शक्ति - The Power Of Information

        

कसरी मिलायो प्रहरीले बंगुर र कुखुराको मुद्दा ?

छिमेकीबीचको झगडा प्रहरीसम्म

जिप्रकामा भाले देखाउँदै रफिक ।

जिप्रकामा भाले देखाउँदै रफिक ।


कुमार श्रेष्ठ । बाँके । सबैका आ–आफ्नै समस्या र तनाव। अनेक रुपका झैझगडा, विवाद ठोक्किदै आउने भनेको प्रहरी कार्यालय या त अदालत । अहिले आएर स्थानीय तह पनि थपिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार सुन्दा अचम्म लाग्ने दुई वटा उजुरी आए । अरुलाई सुन्दा अचम्म लागेपनि उजुरीकर्ताको मर्का चाहिँ उनैलाई थाहा छ ।
जिल्ला प्रहरी कार्यालय नजिकै बस्ने भागराम माहुतले बासमती माहुतका विरुद्धमा उजुरी दिँदै भने, ‘बासमतीको भाले बंगुरले मेरो गर्भवती पोथी बंगुरमाथि चढेर पेटको बच्चा मारिदियो, पोथी बंगुरको पेटमा रहेको दश वटा बच्चा मरे, क्षतिपूर्ति पाऊ ।’ भागराम र बासमति आफन्त नै हुन् । उनीहरु एकै ठाउँमा बस्छन् । केही दिनदेखि यी दुईका बीचमा ठाकठुक थियो । मान्छेको ‘मन कुडिएको’ बेलामा बंगुरले क्रिडा गरेछ । त्यो नै मुद्दा बन्यो । र, प्रहरीसमक्ष पुग्यो ।
गर्भवती बंगुरलाई फेरि भाले लागेछ । भागराम पनि के कम, बासमतीलाई दुःख दिने मौका यही हो भन्ने बुझेर त्यही मुद्दा प्रहरीमा पुर्याए । उनले कतिसम्म भविष्यवाणी गरेभने गर्भवती बंगुरको पेटमा दश वटा बच्चा थियो रे ! प्रहरी कार्यालयमा आइपुगेका दुवैका बीचमा केहीबेर वादविवाद भयो । अन्तिममा उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप नगर्ने सर्तमा सहमति गरेर घरतर्फ लागे । बंगुरको कुरा त मिल्यो ।
फेरि जिप्रकामा आइपुग्यो, कुखुराको विवाद । नेपालगन्ज–२१, बिर्ताका मोहम्मद रफिकले छिमेकी अकवाल खाँविरुद्ध भालेको खुट्टा भाँचिदिएको उजुरी गरे । ‘मेरो दुई किलोको भालेको अकवालले खुट्टा भाँचिदिए । यसअघि पनि दुई–तीन वटा कुखुरा मारिसकेका छन्,’ रफिकले भने, अकवाललाई कारबाही हुनुपर्यो ।’ रफिक भाले नै बोकेर जिप्रका आएका थिए। प्रहरीले दुवै पक्षलाई राखेर मिलाउने प्रयास गर्यो। कुरा मिलेन । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँटका इञ्चार्ज रणबहादुर विष्टले खुट्टा भाँचिएको भाले आफूले लिएर त्यसबराबरको पैसा रफिक दिन अकवाललाई सुझाव दिए ।
दुवै पक्षबाट यो मुद्दामा सहमति भएन । कुरा नमिलेपछि दुवै पक्षलाई भोलि आउने गरी घरतर्फ पठाइएको छ । भाले मुद्दामा पनि छिमेकीका बीचमा ‘तुष’ देखिन्छ । एकले अर्कालाई स्वीकार नगर्ने, ‘तँलाई देखाइदिन्छु’ भन्ने अहमताले गर्दा दुई पक्षका बीचमा कुरा मिलेन । एउटाले पालेको कुखुरा, अर्को छिमेकीको घरमा जानु त स्वाभाविक नै मानिन्छ, गाउँघरतिर । तर, कतिपयले यसैलाई मुद्दा बनाउँछन् । झैझगडा गर्छन् । कहाँ–कहाँबाट बिग्रिएको मनलाई कुखुरा, बंगुरसँग जोडेर अझ ठूलो रुप दिइन्छ । एकजना मध्यस्थकर्ता भन्दै थिए, मिले यी सबै साना कुरा हुन् । नमाने ठूला ।

 

 

 

#देश सञ्चार

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार ०६:४५