सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कुपोषणको अवस्था भयावह, उपचारमा छोरीलाई बेवास्ता

बाँके । बर्दियाकी तुलारानी थारुको बच्चा ९ महिनाको पुग्यो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उनलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा पुग्न सुझाएपछि उनले त्यसै गरिन् ।
तुलारानी बच्चा लिएर भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा पुगिन् । त्यहाँ बच्चालाई उपचारात्मक खाना दिन सुरु गरियो । उपचारात्मक खानाले बच्चाको तौल बढ्न थालेसँगै तुलारानीले बच्चालाई पर्याप्त खाना नपुगेको थाहा पाइन् । तुलारानीले भनिन्, ‘धेरैजसो घरकै काममा ध्यान जाने र पोषणका बारेमा जानकारी नभएकाले बच्चालाई समस्या भएको रहेछ बल्ल थाहा पाएँ ।’
बाँके बैजनाथ गाउँपालिकाकी दुर्गा कार्कीको बच्चा ११ महिनाको पुग्यो । बच्चा निकै दुब्लो र ख्याउटे भएपछि दुर्गालाई पनि तुलारानीजस्तै तनावमा परिन् । बच्चालाई चेकजाँचका लागि कोहलपुर ल्याएकी उनलाई स्वास्थ्यकर्मीले कुपोषण भएको जानकारी दिए । स्वास्थ्यकर्मीले कुपोषण (पोषण नपुगेको) भएको जनाएपछि उनी पोषण पुनःस्थापना केन्द्रमा पुगिन् ।
काममा व्यस्त हुने भएकाले बच्चा र आफ्नो खानामा ध्यान दिन नपाएको उनले बताइन् । उनले भनिन्, ‘बच्चालाई प्रशस्त खानेकुरा खुवाइरहेकी थिए । तर त्यसरी खुवाएर हुँदोरहेनछ । बच्चा ख्याउटे र दुब्लो भएपछि बल्ल थाहा पाएँ ।’ घरैमा भएको अन्नलाई मिलाएर सातु बनाई खुवाएमा त्यसले स्वास्थ्य सुध्रिने जानकारी पाएको उनले बताइन् ।
‘कसैले खाना पर्याप्त पाउँदैनन् । कसैले खाना पाए पनि सरसफाइ हुँदैन,’ उनले भनिन्, ‘शक्ति दिने, सुरक्षा गर्नेे, वृद्धि विकास गर्ने खानाहरू एकै पटकमा खाने चलन नभएकाले कुपोषण हट्न सकेको छैन ।’ समय–समयमा नखुवाउने, बच्चाले खान मानेन भनेर नखुवाउने, बारम्बार निमोनिया, झाडापखालाजस्ता रोग लाग्नुले पनि कुपोषण हुन्छ ।
भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा एउटा र जनस्वास्थ्यले १२ स्थानबाट उपचारात्मक खानाको सेवा दिइरहेका छन् । बच्चालाई कुपोषण भएपछि बाँके र आसपासका महिला भेरी अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह र जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा पुग्छन् । कुपोषण यहाँको मात्रै नभएर मुलुककै प्रमुख समस्या रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
आर्थिक वर्ष २०७४/०७५ को ६ महिनाको अवधिमा बाँकेका आठ वटै स्थानीय तहमा २७९ जना शीघ्र कुपोषित बालबालिका फेला परे । उनीहरुले स्थानीय तहमै उपचार गराइरहेका छन् । गत आर्थिक वर्षमा नेपालगन्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापन गृहबाट बाँकेमा मात्र १०० जना कुपोषित बालबालिकाले उपचार पाएका थिए ।
यो बर्षभरी जिल्लाका अस्पताल बर्थिङ्ग सेन्टर र घरमा गरी १८ हजार ४४५ जना महिला सुत्केरी भए । हरेक महिलाले औसत एक जनामात्र बच्चा जन्माएको तथ्यलाई आधार मान्दा र कुपोषणको उपचार गराइरहेका बालबालिकाको तथ्यांक विष्लेषण गर्दा २ प्रतिशत बालबालिका कुपोषणको शिकार भइरहेका छन् । एकै पटकमा तीन वटासम्म बच्चा जन्मिएका छन् ।
भेरी अञ्चल अस्पतालमा ७५ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा १७३ जना गरी २३० जना २८ दिनमूनिका बालबालिकाको मृत्यु भएको छ । मृत्युको कारणमध्ये कुपोषण पनि रहेको अस्पतालले जनाएको छ । उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नहुनुलाई पनि कुपोषणको एउटा कारण मानिन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर वसन्त गैरेका अनुसार गत वर्ष तौल लिइएका १२ हजार ४७२ बालबालिकामध्ये १ हजार ११ जना कम तौलका थिए । तिनलाई सामान्य, मध्यम र कम तौल तीन वर्गमा विभाजन गर्दा ४२३ जनाको निकै कम तौल र ५८८ जनाको मध्यम तौल पाइएको थियो । कम तौल हुने सबै बालबालिका कुपोषणको शिकार भएका हुन् ।
जन्मेका कुल बालबालिकामा तौल नपुगेका ७ प्रतिशतमध्ये अधिकांश कुपोषणको शिकार भएको आँकलन गर्न सकिन्छ । यी तथ्यका आधारमा बाँकेमा ठूलो संख्यामा बालबालिका कुपोषण रोगको शिकार भएका छन् । खासगरी मधेसी, मुस्लिम र थारु समुदायमा यो समस्या अलि बढि देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार कुपोषणकै कारण मृत्यु भने एक जनाको मात्रै भएको छ ।
बैशाख १३ गते डुडुवा गाउँपालिकाको नयाँ चौफेरीका राम छविले बर्माकी १८ महिने छोरी रिता बर्माको कुपोषणका कारण भएको जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन जागेश्वर बस्नेतले बताए । सुआहारा कार्यक्रममार्फत बेतहनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कुपोषण बहिरंग उपचार केन्द्र (ओटीसी)मा मात्र ४४ जना कडा शीघ्र कुपोषित बालबालिकाले उपचार गराइरहेका छन् ।
जिल्लामै सबैभन्दा बढी कुपोषित बालबालिका हुने यो दोस्रो स्थान हो । जिल्लाको जानकी गाउँपालिका–३ को एउटै वडामा १४ महिनाको अवधिमा ७ जना नवजात शिशुको मृत्यु भयो । मृतक अधिकांश २८ दिनदेखि ६ महिनासम्मका बालबालिका रहेको इन्द्रपुर स्वास्थ्य चौकीका इन्चार्ज गगनसिंह साउदले बताए । उनले भने, ‘मृतकमध्ये तीन जना २८ दिनभित्रकै थिए । अधिकांश कम तौलका र समय नपुग्दै जन्मिएका थिए ।’
स्वास्थ्य चौकीले उनीहरुको मृत्युको अरु नै कारण भने पनि अधिकांश शिशु कुपोषणको शिकार थिए । तर यी मृतक बालबालिका भने कुपोषणबाट मृत्यु भएको तथ्यांकमा देखिँदैनन् । जनस्वास्थ्यको तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी कुपोषित बालबालिका भएको स्थानीय तह नै जानकी गाउँपालिका हो । यो गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ९२ जना कुपोषित बालबालिका भेटिएका छन् । उनीहरुको बेलभार र बेलहरी ओटीसीमा उपचार भइरहेको छ ।
मधेसी बाहुल्यता रहेका वडाका बासिन्दामा पोषणबारे चेतनाको अभाव रहेको बताउँछन् जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङ्ग । उनी भन्छन्, ‘मधेसी समुदायमा स्वास्थय सम्बन्धी चेतनाको निकै अभाव छ । स्थानीय बारीको साग र दुध दही बेच्छन् । बच्चाहरुलाई चाउचाउ, बिस्कुट जस्ता जंक फुडहरु दिन्छन् । यसले पनि बालबालिका कुपोषणको शिकार भएका छन् ।’
उपचारात्मक खाना खुवाएमा ४२ देखि ९० दिनसम्ममा कुपोषण ठीक हुने उहाँको भनाई छ । यससँगै शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम चलिरहेको छ । यस कार्यक्रममा बच्चालाई खोप लगाउन तथा तौल लिन आएका आमालाई स्वास्थ्यकर्मीले पोषणबारे परामर्श दिन्छन् । कुपोषण हटाउनकै लागि नियमित भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
विभिन्न दातृ निकायको सहयोगमा कार्यालयले अन्य कार्यक्रम पनि सञ्चालन गरेको छ । कुपोषण हटाउन यी विविध कार्यक्रम भइरहे पनि कुपोषित बच्चाको संख्यामा कमी आएको छैन । जनचेतनाको कमी, कि एकदमै धेरै खुवाउने कि नखुवाउने चलन, खुवाउने तरिका नजानेको, मात्रा नमिलाई खाना खुवाउने जस्ता कारणले बच्चालाई कुपोषण हुने पोषण पुनःस्थापना गृहकी अनमी देविका देवकोटा बताउँछिन् ।
व्यस्त जीवनशैली, अल्छीपना, अनि बजारमा सहजै पाइने बनिबनाउ खाना खाने प्रवृत्तिले बच्चाहरू कुपोषित भइरहेका छन् । सामान्यतया ६ महिनादेखि १२ वर्षसम्मका बच्चालाई कुपोषण हुने सम्भावना हुन्छ । तर, ६ महिनादेखि दुई वर्षसम्मका बच्चा कुपोषणको अति जोखिममा हुने अनमी देवकोटाको भनाई छ । संक्रमण, उमेर नपुगी बच्चा जन्मनु, सरसफाइको कमी, गरिबी, अशिक्षा, जनचेतना नहुनुलगायत कारण कुपोषण दर घट्न नसकेको देवकोटाले बताइन् ।
नेपालगन्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापना गृहले पनि एक दशकको अवधिमा १ हजार ३५८ जना कुपोषित बालबालिकालाई भर्ना गरेर उपचार गरिसकेको छ । साविकको मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाका बालबालिकालाई उपचार गरिने भए पनि सेवा लिने अधिकांश बाँकेकै रहेको जनस्वास्थ्यको तथ्यांक छ । मध्य र सुदूरपश्चिम क्षेत्रबाट सम्भवतः कुपोषणको शिकार हुने जिल्लामा बाँके अग्रणी स्थानमा आउँछ ।
कुपोषण न्यूनीकरणका लागि बाँके जिल्लामा सरकारले सामाजिक संघ/संस्थासँगैको साझेदारीमा एकीकृत पोषण कार्यक्रम सुआहारा सञ्चालन गरिरहेको छ । जहाँ कुपोषित बालबालिकाको निशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर, स्थानीय भने आफ्ना बालबालिकाको नियमित उपचार गर्न मान्दैनन् । जसका कारण सुआहारा कार्यक्रम प्रभावहिन जस्तै बनेको छ ।
जनस्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन जागेश्वर बस्नेत भन्छन्, ‘गतबर्ष मात्र ६२ जनाले उपचार छोडेका थिए । यस्ता बालबालिका थप जोखिममा पर्छन् ।’ जिल्लामा लुकेको अवस्थामा रहेका कुपोषित बालबालिकाको अवस्था डरलाग्दो रहेको हेलेन केलर इन्टरनेशनलका सुआहारा कार्यक्रम संयोजक इन्द्र आउजी बताउँछन् । उनी भन्छन्, ‘आफ्नो सन्तान कुपोषणको शिकार हुँदा पनि अभिभावकमा कुनै चिन्ता हुँदैन ।’
उनका अनुसार बाँकेमा कुपोषणको अवस्था भयावह अवस्थामा छ । ‘मधेसी र मुस्लिम समुदायमा निकै समस्या छ । ५ वर्षमूनिका धेरै बालबालिकाको मृत्युको कारण कुपोषण नै हो । तर सबैको रिपोर्ट सार्वजनीक हुन सकेको छैन,’ सुआहारा कार्यक्रम संयोजक आउजी भन्छन्, ‘छोरी कुपोषण हुँदा झनै बेवास्ता हुन्छ ।’ गरिबी र अज्ञानता कुपोषण न्यूनीकरणका लागि प्रमूख चुनौतिका रुपमा रहेको आउजी बताउँछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय र भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृह नेपालगन्जको तथ्यांकअनुसार हाल १ हजार ४०४ जना बालबालिकाको उपचार भइरहेको छ । जस अन्तरगत कुपोषण बहिरंग उपचार केन्द्र (ओटीसी) रहेको भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृहमा सबैभन्दा धेरी १३८ बालबालिकाको उपचार भइरहेको छ भने बेलहरी स्वास्थ्य चौकीमा ७८ जना, बेतहनी स्वास्थ्य चौकीमा ४४ जना बालबालिकाको उपचार भइरहेको छ ।
त्यस्तै कारकाँदो स्वास्थ्य चौकीमा २४, गंगापुर स्वास्थ्य चौकीमा २३, जयसपुर स्वास्थ्य चौकीमा २३, सोनपुर स्वास्थ्य चौकीमा २०, कालाफाँटा स्वास्थ्य चौकीमा १७, बेलभार स्वास्थ्य चौकीमा १४, कोहलपुर स्वास्थ्य चौकीमा ७, बनकटवा स्वास्थ्य चौकीमा ३ र महादेवपुरी स्वास्थ्य चौकीमा २ जना कुपोषित बालबालिकाको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा देखिन्छ ।
यस्तै कम तौलका कारण कुपोषित बालबालिकमध्ये जन्मेदेखि ११ महिनाका मध्यम र कडा कुपोषण भएका ५७४ जना १२ देखि १३ महिनाका मध्यम र कडा कुपोषण भएका ४३७ जना बालबालिका रहेका छन् । आव २०७४/०७५ को तथ्यांक अनुसार बाँकेमा ७०० बालबालिकाको मृत्यु भएको देखिन्छ । यो तथ्यांकले पनि बाँकेमा कुपोषित बालबालिकाको अवस्था निकै डरलाग्दो रहेको देखाउँछ ।
कुपोषण हटाउनका लागि जनचेतना फैलाउन आवश्यक रहेको अस्पतालका चिकित्सक डा. कुलदीप गोइतले बताए । ‘जसरी खोपबारे जानकारी गराइयो, सबैले लगाउँछन्,’ उनले भने, ‘त्यसरी नै पोसिलो आहारको बारेमा जनचेतना फैलाउनुपर्छ ।’ बजारमा पाइने जंकफुड नखुवाउने, मकै, भटमास, गहुँ, चनाजस्ता गेडागुडीको सर्वोत्तम लिटो, दूध र फलफूल आदि मात्रा मिलाएर खुवाउने गरे कुपोषण हटाउन सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ०७:२८