सूचनाको शक्ति - The Power Of Information

        

श्रीमान् बेपत्ता पारिएको १५ वर्ष : चन्द्रकला भन्छिन्, ‘उहाँको आत्मा यही चोकमा छ’

अझै न्यायको प्रतिक्षामा छन् द्वन्द्वपीडित

कुमार श्रेष्ठ । बाँके । नेपालगन्जको व्यस्त चोक, धम्बोझी । हरेक वर्षको मंसिर २३ गतेजस्तै चन्द्रकला उप्रेतीले श्रीमानको तस्बिरमा फूल चढाइन्, धुपबत्ती बालिन्, फूल चढाइन् । उपस्थित परिवार तथा शुभचिन्तकलाई प्रसाद (मिठाई) खुवाइन् । मंसिर २३ गते चन्द्रकलाका लागि ‘कालो दिन’ हो । उनले वर्षेनी यो दिनलाई यसरी नै सम्झन्छिन् ।
वि.सं. २०६० मंसिर २३ गते चन्द्रकलाका श्रीमान् भुपेन्द्र उप्रेतीलाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता पार्नुअघि यही चोकमा दुई घण्टा राखेका थिए । भुपेन्द्रलाई ज–जसले अन्तिम पटक देखे, यही चोकमा देखेका थिए । चोक नजिकै पसल रहेका भुपेन्द्रलाई सेनाले माओवादीको आरोपमा नियन्त्रणमा लिएको थियो । सेनाले ब्यारेकमा लैजानुअघि दुई घण्टा धम्बोझी चोकको रेलिङभित्र राखेको थियो ।
भुपेन्द्रले त्यहीबाट चिनेका व्यक्तिमार्फत घरपरिवारलाई आफूलाई सेनाले लगेको खबर पठाएका थिए । ‘मेरा श्रीमान् यही चोक आसपासमा हुनुहुन्छ,’ चन्द्रकलाले भनिन्, ‘यो चोकलाई भुपेन्द्र चोक राखिदिए मलाई न्याय हुन्थ्यो ।’ धम्बोझी चोकलाई पहिला वीरेन्द्र चोक भनिन्थ्यो । धेरैको जिब्रोमा अहिले पनि त्यही नाम आउँछ । यहाँ तत्कालीन राजा वीरेन्द्र शाहको शालिक थियो । दोस्रो जनआन्दोलनताका प्रदर्शनकारीले वीरेन्द्रको शालिक भत्काएपछि वीरेन्द्रचोकलाई धम्बोझी चोक भन्न थालियो ।
चन्द्रकलाले यो चोकलाई भुपेन्द्र चोक भन्छिन् । उनले लबिङ पनि गरिरहेकी छन् । ‘राज्यले अहिलेसम्म मेरो श्रीमानको लास र सास देखाउन सकेन,’ उप्रेतीले भनिन्, यो चोकमा मेरो श्रीमान घुमिरहनु भएको छ, कम्तीमा चोकको नामाकरण गरिदिए उहाँको आत्माले शान्ति पाउँथ्यो ।’ चन्द्रकलालाई मंसिर महिनाभरि नै पीडा हुन्छ । त्यसमा पनि २३ गते अझ धम्बोझी चोककै सम्झना आउँछ । श्रीमानको सम्झनाले व्याकुल बनाउँछ । आइतबार नेपालगन्जमा द्वन्द्वपीडितहरु भेला भएका थिए ।
राज्यले न्याय दिन नसकेको टिप्पणी गरिएको थियो । कार्यक्रममा उपस्थित द्वन्द्वपीडितहरु चन्द्रकलाले श्रीमानको सम्झनामा आयोजना गरेको दीप प्रज्वलनमा सहभागी भएका थिए । न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष रहेकी चन्द्रकलाले भनिन्, ‘१५ वर्षसम्म श्रीमानको अत्तोपत्तो भएन, राज्यले बेवास्ता गर्यो, मलाईजस्तो त शत्रुलाई पनि नहोस् ।’ मंसिर २३ गते श्रीमान् धम्बोझी चोकमा रहेको सपना देख्ने गरेपछि चन्द्रकलाले केही वर्षयता वर्षेनी यो दिन चोकमा आएर दीप प्रज्वजन गरिरहेकी छन् ।

 

 

#देश सञ्चार

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ०६:४६