सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिकलाई जनपथ प्रहरीको असहयोग !

नेपालगन्जमा ‘नो हर्न’ अभियान

बाँके । नेपाल भारत सीमानाका जमुनाहामा यही मङ्सिर १ गते ठूलै तामझाम गरेर नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा गरियो । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने प्रमूख अतिथि र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेललाई विशिष्ठ अतिथि बनाइएको थियो ।
सो समयमा प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर रहेकाले सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई निमित्त तोकिएको तोकिएको थियो । न्यौपाने हाल बाँकेबाट सरुवा भइसकेका छन् । न्यौपाने प्रमुख अतिथि र प्रहरी उपरीक्षक पौडेलले नेपालगन्ज उपमहानगर मात्र नभएर बाँके जिल्लालाई नै ‘नो हर्न’ बनाउने भन्दै कार्यक्रममा आफ्ना भनाईसमेत राखेर प्रतिवद्धतामा हस्ताक्षरसमेत भयो ।
‘नो हर्न’ अभियानलाई सफल बनाउन एक महिनासम्म प्रचारात्मक अभियान सञ्चालन गर्ने र त्यसपछि नियम उलंघन गरेमा १ हजार ५०० जरिवाना गर्ने तयारी छ । अभियान चलिरहँदा जनपथ प्रहरीको साथ नपाउँदा ट्राफिक प्रहरीलाई अभियान सफल बनाउन हम्मेहम्मे परिरहेको छ । जनपथ प्रहरीकै जिल्ला प्रमुख प्रहरी उपरीक्षक पौडेलले अरुण पौडेलले ‘नो हर्न’ अभियानलाई सफल बनाउन चासो नदिएको ट्राफिक प्रहरी स्रोतको गुनासो छ ।
ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘जनपथ प्रहरीको सहयोग भएन । एउटै विभाग हुँदा पनि हामी र हाम्रा कामहरुमा जनपथ प्रहरीको सहयोग नै छैन ।’ नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार जनपथले साथ नदिएपछि आफैसँग भएको स्रोतसाधनले ट्राफिक प्रहरीलाई अभियान कार्यान्वयनमा चुनौति पनि थपिएको छ ।
त्यसो त नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायले अभियानमा पूर्ण सहयोग रहने बताएपछि उद्घाटनपछि कसैको साथ नपाएको ट्राफिक प्रहरी स्रोतले बताएको छ । पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मंसिर महिनाभर सरोकारवाला र संघ संस्थाहरुको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम तय भएको थियो ।
‘हामीलाई कसैले साथ दिएन, अभियानका बारेमा सचेतनाका लागि सरोकारवाला निकायले गरेको प्रतिवद्धता हस्ताक्षरमै सिमित भयो,’ ट्राफिक प्रहरी स्रोतले भन्यो, ‘अब एक्लै भए पनि हामीले सफल बनाउनै पर्छ ।’ बाँकेका तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरेका थिए । जुन तामझामका बीचमा उद्घाटन गरियो, सो अनुसार ट्राफिक प्रहरीले साथ नपाएपछि अभियान सफल बनाउन हम्मेहम्मे परेको छ ।
पछिल्लो समय नेपालगन्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि सुरु गरिएको ‘नो हर्न’ अभियानलाई जनपथ प्रहरीले नै सहयोग नगरेपछि ट्राफिक प्रहरीले कुनै हालतमा भए पनि अभियान सफल बनाउने बताएको छ । ‘एउटै संरचनाभित्र रहेको ट्राफिक प्रहरीलाई जनपथ प्रहरीले सहयोग नगर्दा केही समस्या भएको छ, हामी पूर्णरुपमा कार्यान्वयन गरेरै छाड्छौं,’ ट्राफिक प्रहरी स्रोतले दावी गर्दै भन्यो, ‘हामीले अभियान घोषणा गरेपछि सफल बनाउनुपर्छ, त्यसको नैतिक जिम्मेवारी हाम्रो हो, यो अभियान सफल हुन्छ ।’
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले अभियान ट्राफिक प्रहरीको मात्रै नभएर सिंगो प्रहरी संगठनको भएको बताए । उनले भने, ‘यो ट्राफिक प्रहरीको अभियान मात्रै होइन, सिंगो नेपाल प्रहरीको अभियान हो । काम र कार्यक्षेत्रका हिसाबले कार्य विभाजन मात्रै फरक देखिएको हो । यो सिंगो प्रहरी संगठनको अभियान हो । यसलाई सफल बनाउन सिंगो प्रहरी संगठन लागिरहेको छ ।’ उनले अभियान विफल बनाउन लाग्नेहरुसँग टाढा रहन आग्रह गर्दै अभियानमा साथ दिन सबैलाई अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार १८:५६