बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र उपमहानगरपालिकाको गाडी ।
कुमार श्रेष्ठ । बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गाडीको विषयलाई लिएर लामो समयसम्म अध्यक्ष र उपाध्यक्षका बीचमा बोलचाल नै बन्द भयो । भाडामा लिएको एउटा सवारीसाधनलाई अध्यक्षले मात्रै प्रयोग गरेपछि विवाद भएको थियो ।
अध्यक्ष र उपाध्यक्षको एक अर्कालाई देख्ने बित्तिकै ‘मुन्टो बटार्ने’ अवस्थाले काम कारबाहीमा असर पर्यो । जबकी दुवै जना एउटै पार्टीबाट निर्वाचित भएका थिए । अति नै भएपछि गाउँपालिकाले अर्को गाडी पनि भाडामा ल्याइयो । जेठदेखि त्यहाँ दुई वटा गाडी भाडामा चलेका छन् । अध्यक्ष र उपाध्यक्षले एक–एक वटा गाडी चढेका छन् । त्यहाँ अझ रमाइलो त के भएको छ भने भर्खरै गाउँपालिकाले एउटा नयाँ गाडी किनेको छ ।
त्यो नयाँ गाडी चढ्नका लागि न अध्यक्षले मानेका छन्, न त उपाध्यक्षले नै । दुवै जना भाडाकै गाडी चढ्ने अडानमा छन् । अध्यक्ष र उपाध्यक्षलाई किन भाडाकै गाडी प्यारो ? स्रोतले भन्यो, ‘गाउँपालिकाले किनेको गाडीमा सरकारी नम्बर प्लेट लाग्छ, त्यो गाडी बिदाको दिन, आफ्नो निजी काम (कार्यक्रमहरु) मा लिएर जान पाइँदैन । भाडाको गाडी त जतासुकै लैजान पाइने भएकाले अध्यक्ष र उपाध्यक्ष दुवैले भाडाकै गाडी रोजेका छन् ।’
कहिले गाडी नभएर झगडा त कहिले नयाँ गाडी आएपनि नचढ्ने अडान । यी दुवै घटनाले राप्तीसोनारी गाउँपालिका चर्चामा रहेको छ । अब तीन वटा गाडी त राख्न सकिँदैन । भाडाको एउटा त फिर्ता गर्नैपर्छ । स्रोतले भन्यो, ‘अध्यक्ष र उपाध्यक्षले मिलाउनु होला । एउटा गाडी भाडामा लिँदा मासिक एक लाख २५ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।’ राप्तीसोनारीमा गाडीको चाङ लागिरहँदा बैजनाथ गाउँपालिकामा गाडीको सुरसार नै छैन । गाउँपालिकाका प्रमुख मानबहादुर रुचाल नै निजी मोटरसाइकल चढ्छन् । विकास गर्ने पैसाले गाडी किनेर नचढ्ने अडानमा छन्, रुचाल ।
भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल नै चढेर रुचालले गाउँपालिकाको काम गरिरहेका छन् । अध्यक्षले नै निजी मोटरसाइकल चढेर हिँडेपछि अरुका लागि गाडी या मोटरसाइकल खरिद गर्ने प्रश्न पनि आएन । अहिले आएर बैजनाथले वडासचिवसम्मलाई मोटरसाइकल दिने कि भन्ने सोच बनाएको छ । खजुरा गाउँपालिकाले पनि गाडी खरिद गरेको छैन । न त वडाध्यक्षलाई मोटरसाइकल नै दिएको छ । गाडी किन्ने निर्णय गरेर पनि गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति पछि हटेका थिए । वडाध्यक्षहरुलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको ३० लाख रुपैयाँ पनि प्राविधिक शिक्षालय स्थापनाका लागि दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा आफ्नै गाडी छन् । मेयरलाई कुन चाहिँ गाडी चढ्ने रोजीछाडी नै छ । नेपालगन्ज उपहानगरपालिकालाई एक विदेशी दाताले जाँदाजाँदै भर्खरै बिजुलीबाट चल्ने सानो गाडी दिएको छ । मेयर धवलशमशेर राणा बजारभित्र त्यही गाडीमा देखिने गरेका छन् । यो गाडी वातावरणमैत्री छ । डुडुवा, नरैनापुर, जानकी गाउँपालिकाका प्रमुख पनि भाडामा लिएको स्कोपियो चढ्छन् । जिल्लाका आठमध्ये धेरैजसो स्थानीय तहले वडाध्यक्षलाई मोटरसाइकल दिएका छन् । गाउँपालिकामा एउटा गाडी त आवश्यक नै पर्ने सम्बद्धहरु बताउँछन् ।
#देश सञ्चार
कुमार श्रेष्ठ - ।