सूचनाको शक्ति - The Power Of Information

        

भगतले दायर गरे ओली–प्रचण्डदेखि सेनाप्रमुख र आइजीपीविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ व्यक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।
ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले प्रधानमन्त्री ओलीसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । उनी २०६२ साल साउन ८ गते तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादी सेनामा गएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा समेत काम गरेका थिए । भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक श्रोतले जानकारी दियो ।
भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन् । उनले आफूलाई विस्तृत शान्ति समझौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् ।
निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार १५:१८