सूचनाको शक्ति - The Power Of Information

        

छाप्रोमै सुत्केरी, ज्यान जाने जोखिम

बाँके । नरैनापुर गाउँपालिकामा निमार्णाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन समयमै निर्माण हुन नसक्दा स्थानीयले प्रभावकारी सेवा सुविधा पाउन सकेका छैनन् । भवन अभावकै कारण प्रसुतिका लागि स्वास्थ्य केन्द्र जाने महिलाले समेत एकदमै सास्ती र जोखिममा सुत्केरी हुने गरेका छन् ।
नरैनापुरमा भवन अभावले गर्दा प्लास्टिकले छाएको बर्थिङ सेन्टरमा महिलाहरू गर्भवती हुन बाध्य भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको भवन समयमै निर्माण हुन नसक्दा यहाँ आउने गर्भवती महिला र शिशुको ज्यान सधैं जोखिममा पर्ने गरेको हो । निर्माण कम्पनीको लापरबाही र साविकको जिल्ला जनस्वास्थ्य कार्यालयको उदासिनताले दुई बर्षअघि नै निर्माण पुरा हुनुपर्ने उक्त भवन अहिले पनि वेवारिसे अवस्थामा रहेको छ ।
यहाँको बर्थिङ सेन्टरको अवस्था दयनिय छ । सुत्केरी गराउँन एकदमै समस्या भइरहेको भए पनि यस प्राथमिक केन्द्रमा कार्यरत कर्मचारी समेत बर्थिङ सेन्टर सुधार र व्यवस्थि तगर्नका लागि सक्रिय देखिएका छैनन् । बर्थिङ सेन्टरको हालत खराब भएकै कारण यहाँका अधिकांश महिला जोखिम मोलेर घरमै सुत्केरी हुन बाध्य भएका छन् ।
‘नरैनापुरमा नत गतिलो स्वास्थ्य केन्द्र नै छ नत अप्ठ्यारो परेको बेला एम्बुलेन्स नै आउँछ,’ नन्कु गोडियाले भने, ‘सामान्य उपचारका लागि पनि यहाँका नागरिक भारतीय बजार धाउनुको विकल्प छैन ।’ एकजना एमबीबीएस डाक्टरको दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मी बस्नसमेत अटेर गर्दै आइरहेको स्थानीय बताउँछन् ।
‘जर्बरजस्ती कसैलाई पठाए पनि त्यहाँ चिकित्सकहरू धेरै समय बस्न मान्दैनन्,’ नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले भने, ‘नरैनापुर विकट भएकै कारण डाक्टर र स्वास्थ्यकर्मी बस्न नमान्ने गरेका हुन् ।’ तर, उनले विकट नरैनापुरलाई सुगममा परिणत गर्ने र स्वास्थ्य केन्द्रमा नियमित चिकित्सक ल्याउनेतर्फ कुनै प्रयास नगरेको देखिएको छ ।
गाउँपालिका अध्यक्षकै उदािसनता र लापरवाहीका कारणले पनि अहिले नरैनापुर डाक्टरविहीन रहेको स्थानीयहरुको आरोप छ । ‘आएको एक–दुई महिनामै डाक्टर भाग्छन्,’ अध्यक्ष शाहले भने, ‘डाक्टर नबसेपछि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन् ।’ तर, दरबन्दी डाक्टर ल्याउनका लागि उनले कुनै सक्रियता नदेखाएको स्थानीय बताउँछन् ।
अहिले पनि उक्त स्वास्थ्य केन्द्र सामान्य स्वास्थ्यकर्मीकै भरमा चल्दै आएको छ । उक्त केन्द्रको भवन समयमै निर्माण नहुँदा जीर्ण घरमा बर्थिङ सेन्टर राख्नुपरेको साबिक जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख रामबहादुर चन्द बताउँछन् । उनले भने, ‘नरैनापुर केन्द्रमा समस्या छ तर विकल्प पनि छैन ।’ समयमै भवन निर्माणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि निर्माण कम्पनीलाई दबाबसमेत दिन सकेको छैन ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार ०७:३०