कुमार श्रेष्ठ । बाँके । नेपालगन्जमा लागुऔषध प्रयोगकर्ताले आफ्नै रगत बेचेर लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । लागुऔषध प्रयागकर्ताले रगत चाहिएको व्यक्तिको खोजी गर्ने र पैसा लिएर रगत दिने गरेका हुन् । नेपालमा रगत किनबेच गर्न पाइँदैन । जानकी गाउँपालिका–४ का धनिराम गडरिया र विष्णु बर्माले रगत बेचेर लागुऔषध ‘कोरेक्स’ सेवन गरेका छन् ।
रक्त सञ्चार केन्द्र नेपालगञ्जमा एक बृद्धलाई एक–एक पिन्ट रगत दिएर गडरिया र बर्माले ५–५ हजार बुझेका हुन् । रगत दिएर पैसा बुझेपछि गडरिया र बर्मा सिधै सीमावर्ती भारतीय बजार रुपैडिहा हानिएका थिए । उनीहरुले त्यहाँ गएर लागुऔषध कोरेक्स खाए । र, फर्किए । उनीहरु मोटरसाइकलमा रुपैडिहा गएका थिए । गडरिया र बर्मालाई प्रहरीले पक्राउ गरेपछि सबै कुरा बाहिर आएको हो ।
उनीहरु रगत बेचेका कारणले नभई रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीको मोबाइल चोरी गरेका कारण पक्राउ परेका थिए । भएछ के भने, रगत दिइसकेपछि गडरिया र बर्माले टेबुलमा रहेको रेग्मीको मोबाइल नै उठाएर हिँडेछन् । रेग्मीको मोबाइल हराएपछि उनीहरुको सोधीखोजी भयो । रगत लिएका व्यक्तिले नम्बर दिएपछि भेरी अञ्चल अस्पतालमा रहेका प्रहरीले फोन गरे ।
दुवै जना रुपैडिहा पुगेर फर्कंदै थिए । ट्राफिक चोकमा प्रहरीले दुवै जनालाई पक्राउ गर्यो । अस्पतालमा ल्याएर सोधखोज गर्दा मोटरसाइकलको डिकीमा पत्रिकाले बेरेर मोबाइल राखिएको थियो । रगत बेचेको पैसाले कोरेक्स खाएर आएका उनीहरुले मोबाइल बेचिसकेका थिएनन् । पैसा अभाव भएपछि मोबाइल बेच्ने उनीहरुको योजना थियो । दुवै जनाको साथमा पैसा भएकाले तत्काललाई लागुऔषध सेवन गर्ने पैसाको कमी थिएन ।
भेरी अञ्चल अस्पतालमा कार्यरत प्रहरी हवल्दार शालिकराम भट्टराई र जवान रञ्जित अधिकारीका अनुसार पक्राउ परेका गडरियाका साथमा तीन हजार दुई सय र बर्माको साथमा ६ हजार ८१० रुपैयाँ थियो । यो घटना कात्तिक १८ गतेको थियो । नेपालगन्ज क्षेत्रमा साना ठूला चोरी भइरहन्छन् । चोरीमा लागुऔषध प्रयोगकर्ताकै संलग्नता रहने गर्छ ।
आफ्नै रगत बेचेर लागुऔषध खानेले अरुको सामान चोर्दैनन् भनेर पत्याउन सकिने कुरा पनि भएन । ‘तलतल हुन्छ, के गरौँ र कसो गरौँ हुन्छ, घरको वा छिमेकी या जसको जे पाएपनि चोर्न पनि पछि परिँदैन,’ एक पूर्व लागुऔषध प्रयोगकर्ताले भने, ‘केही उपाय लागेन भने रगत आवश्यकता भएका मान्छे खोज्ने र गुपचुपरुपमा पैसा लिएर रगत दिने नै हो । लागुऔषध प्रयोगकर्ता महिलाले चाहिँ सेक्स गर्न दिएर लागुऔषध साट्छन् ।’
अस्पतालमा दुर्व्यसनीको चलखेल
तीन दिनअघि भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत एकजना स्वीपरको साइकल हरायो । सिसी क्यामेरामा सर्च गरियो । शंकास्पद दुई जना देखिए । अस्पतालका कार्यरत प्रहरीले दुवै जनाको खोजी थाले । भोलिपल्ट ती साइकल चोर फेरि अस्पतालमा देखा परे । यसपटक उनीहरु मोबाइल चोरेर भाग्दै थिए । अस्पतालमा कार्यरत प्रहरीले दुवै जनालाई समाते । साइकल चोरेर बेची लागुऔषध सेवन गरेका उनीहरु फेरि चोरी गर्न अस्पताल छिरेका थिए ।
दुवैलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पठाइयो । उनीहरु यति ‘एडिक’ थिए कि प्रहरी कार्यालयमा राख्दा लागुऔषध सेवन गर्न नपाएर छटपटाए । ‘यही मर्छ कि जस्तो गरेकाले हामीले दुवै जनालाई सुधार गृहमा पठाइदियौँ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका इञ्चार्ज रणबहादुर बिष्टले भने, ‘लागुऔषध सेवन गर्न नपाएर छट्पटाउने मात्रै होइन, कतिपटक ढलेका थिए ।’
सुधारमा गृहमा पठाइएका दुई जनामध्ये एकजना त अति नै भएकाले घरपरिवारको जिम्मा लगाइएको छ । उनीहरु अस्पतालमा नियमित चोर नै थिए । केही दिनअघि जानकी गाउँपालिका–३ का नेतराम ठाकुर र राजेश नाउ पनि अस्पतालको प्रवेशद्वार नजिक १० ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित पक्राउ परेका थिए । कारागारमा रहेका साथीलाई भेट्न जान हिँडेको उनीहरुले बताए ।
यद्यपि, उनीहरु पनि अस्पतालको नियमित चोरमध्येकै रहेको प्रहरीको बुझाई छ । भेरी अञ्चल अस्पतालमा बिरामी तथा कुरुवाको पैसा, मोबाइल आँखा झिमिक्क भएकी हराउने गर्छ । लागुऔषध प्रयोगकर्ताहरुको बिगबिगी रहने भएकाले अस्पतालभित्र चोरीको झगझगी बढेको हो । अस्पतालमा कार्यरत दुई जना प्रहरीले दिनरात डिउटी दिएपनि लागु औषध प्रयोगकर्ताको गिरोह नै अस्पतालमा सक्रिय रहेकाले चोरीका घटना रोकिएका छैनन् ।
#देशसञ्चार
कुमार श्रेष्ठ - ।