सूचनाको शक्ति - The Power Of Information

        

चुनौतिको सामना गर्दै लोकसेवा पास गरेकी शारदा भन्छिन्, ‘समस्याकै बीचमा सपना देख्थे’

काठमाडौं । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं ६ मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मिएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दापढ्दै विवाह भयो । प्रहरी निरीक्षक गोविन्द पन्थीसँग उनको विवाह भएको थियो ।
श्रीमान र घरपरिवारको साथ पाए महिलाले पनि प्रगति गर्न सक्छन् भन्ने उदाहरण शारदा बनेकी छन् । १ छोरा र १ छोरीकी आमा शारदाले उक्त अवधीमा मास्टर स्नातकोत्तर गरी लोकसेवाको तयारी गरिन् । खुला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी भन्छिन्, ‘दृढ ईच्छा शक्ति, धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव हुदैन । गर्न नसकिने केही छैन ।’
विवाह गरेको २ वर्षमै बच्चा जन्माएकी उनले बाबु हेर्दै स्नातकोत्तर गरिन् भने पुनः अर्को बच्चा जन्मियो र २ जना बच्चा हेर्दै तिनीहरुलाई पढाउदैमा उनको समय बित्यो । अझ श्रीमान २४ सै घण्टा जनताको सुरक्षामा रहने जागिरमा हुँदा त उनलाई पढ्ने समय निकाल्न मुस्किल पर्दथ्यो ।
लोकसेवा पास गर्दा के कस्ता चुनौतीहरुको सामना गर्नुपर्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘विवाह सानै उमेरमा भयो । शुरुमा स्नातकोत्तरसम्मको पढाई पुरा गर्दा नै करिब ७ वर्ष बित्यो । बिचमा बच्चा श्रीमान् प्रहरीको जागिरे, घर र परिवारसमेत हेर्नुपर्ने समस्याका चाङ्गको थिए, मैले त्यही समस्यामा सपना देख्थे । सपना साकार पार्न त्यसैमा लागे ।’
परिक्षा दिदै गर्दा एउटा महिलालाई न्याय दिदा त्यसै अभियोगमा श्रीमानलाई पुल्चोकबाट तानियो, सामान्य होला, एक सरुवा त होला नी भन्ने सोचेकी थिए तर उहाँ घरमै आउन नपाएको देख्दा आश्चर्य लाग्यो । मिडियाबाट समाचार आउन थाले, एक महिलालाई न्याय दिदा प्रहरी निरीक्षक तानिएजस्ता थरीथरीका समाचार आउन थाले । मिडियाले अन्यायका बिरुद्ध राम्रै कभरेज गरेको देख्दा न्याय हुने ठान्थे र महिलालाई न्याय दिदा तानिएको भन्दा गर्व पनि भयो । त्यही तनावको बिचमा परिक्षा दिए । प्रथम चरणमा पास भए ।
कौतुहलता र अनिश्चियताको बिचमै परिक्षाको तयारी पनि गर्नु थियो । करिब २ महिना श्रीमानलाई जिम्मेवारबिहीन बनाएर राखियो । त्यस अवधीमा श्रीमानले मलाई घरको काममा सघाउने मौका मिल्यो । मैले पढाईलाई अझ तिब्रता दिए, मनमा अन्यायको आभाष भएकै थियो त्यस्तो चुनौतीलाई अवसरको रुपमा लिए । जसले गर्दा नाम निकाल्न पनि सफल भए । विश्वमा धेरै मुलुकमा महिलाले नेतृत्वसमेत प्रदान गरेका छन् । त्यसैले असम्भव केही छैन, सबैले कोशीस गर्नुस् सफलता पाइन्छ ।’

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार ०७:२९