सूचनाको शक्ति - The Power Of Information

        

राजमार्गमा प्रहरी हर्कत, ‘सवारी रोक्दै, मोवाइल खोस्दै सिडिओ सा’पलाई भोट’

एक सवारी चालकको मोबाइल नियन्त्रणमा लिएर सिडओलाई भोट गर्दै ट्राफिक प्रहरी

एक सवारी चालकको मोबाइल नियन्त्रणमा लिएर सिडओलाई भोट गर्दै ट्राफिक प्रहरी


बर्दिया । बर्दियाको सडकमा गुड्ने सवारी साधनलाई प्रहरीले फरक उद्देश्यले रोक्न थालेको करिब एक हप्ता भएको छ । अपराधी खोजीवनका लागि प्रहरी परिचालन भएको होइन । न त सवारी नियम नियमन गर्न प्रहरीले गुडिरहेका सवारी रोक्न थालेको हो ।
चालकको मोबाइल नियन्त्रणमा लिनका लागि प्रहरीले सडकमा गुड्ने सवारी साधनलाई रोकिरहेको हो । ‘चार–पाँच दिन भइसक्यो मोबाइल खोसेर प्रहरीले आइडलमा भोट गर्ने गरेको छ,’ सदरमुकाम गुलरियाका स्थानीयबासी त्रिदेव घिमिरले भने, ‘अगाडि इन ४ लेखिएको मेसेज ३४००१ मा एसएमएस गरेपछि मोबाइल फिर्ता पाइन्छ ।’
सार्वजनिक प्रशासनका इमान्दार, जवाफदेही र कर्तव्यनिष्ठ कर्मचारी छान्न अकाउन्टिबिलिटी ल्याब नामक संस्थाले भोटिङ गराइरहेको हो । भ्रष्टाचारविरोधी र नागरिकमैत्री छवि भएका कर्मचारी छान्न ‘इन्ट्रेगेटी आइडल अवार्ड’का लागि भोटिङ भइरहेको हो । सार्वजनिक सेवामा कार्यरत कर्मचारीमध्येबाट अकाउन्टिबिलिटी ल्याबले वर्षेनी सरकारी कर्मचारीलाई ‘इन्ट्रिगेटी आइडल अवार्ड’ प्रदान गर्दै आएको छ ।
इन्ट्रिगेटी आइडलको एसएमएस भोटिङ नम्बर ३४००१ रहेको हो । अकाउन्टिबिलिटी ल्याबकाअनुसार इन्ट्रिगेटी आइडलमा भोट गर्ने समय मंसिर १७ गते सोमबार राति १२ बजेसम्म छ । यो वर्षको इन्ट्रिगेटी आइडलको अन्तिम पाँच प्रतिस्पर्धीमा बर्दियाका प्रमुख जिल्ला अधिकारी सहसचिव रामबहादुर कुरुङबाङ पनि परेका छन् । आफूलाई जिताउन उनले पद तथा शक्तिको दुरुपयोग गर्दै आफू अन्तर्गतका प्रहरी परिचालन गरेकोमा सर्वसाधारण आकोशित छन् ।

साइकल यात्रुको मोबाइलबाट भोटिङ गर्दै प्रहरी


प्रहरीले ठाँउठाँउमा चेकजाँचका नाममा सवारी चालकदेखि साईकल यात्री र स्थानीय पसलेसम्मको मोबाईल नियन्त्रणमा लिएर भोट गरिरहेको हो । बर्दिया प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण वली नेतृत्वमा रहेको टोलीले भलागौडी नजिक सार्वजनिक बस तथा निजी सवारी साधन रोकी मोबाइल नियन्त्रणमा लिएर भोट गरिरहेको एक स्थानीयले नेपालखबरलाई जानकारी दिए ।
तल्लो तहका एक प्रहरी अधिकृतका अनुसार बर्दिया प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीको निर्देशनमा यो काम भएको हो । प्रमुख जिल्ला अधिकारीलाई भोट हाल्न यात्रु तथा सवारी चालकलाई सास्ती दिएको विषयमा सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ । प्रहरी हर्कतबाट पीडितहरुले प्रहरीले सार्वजनिक सावरी साधन रोकेर एसएमएस गरिरहेका तस्विरहरु फेसुबक, ट्विटरमा पोष्ट गर्दै आक्रोश पोखिरहेका छन् ।
बर्दियाका प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीले प्रमुख जिल्ला अधिकारीलाई जिताउन प्रहरी परिचालन नभएको दाबी गरे । ‘यो त्यति गाडी चल्ने जिल्ला पनि होइन । पसल पनि धेरै छैनन् । प्रहरीले त्यसो गर्ने कुरा पनि भएन,’ उनले भने । अरु जिल्लामा यस्तो हर्कत भएको हुनसक्ने उनले दाबी गरे । प्रमुख जिल्ला अधिकारी कुरुङबाङगको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गर्दा फरवार्डमा राखिएकाले सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार १४:२६