सूचनाको शक्ति - The Power Of Information

        

बैदेशिक रोजगारीमा रहेका बाँकेका चापागाईको साउदीमा मृत्यु

बाँके । बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरेबियामा रहेका बाँकेका एक युवाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१ बैरियाका बेदनिधि चापागाईको मस्तिष्क घातका कारण मृत्यु भएको जनाइएको छ ।
साउदी अरबको जेद्दास्थित अलमाराई कम्पनीमा कार्यरत चापागाईलाई दुई दिनअघि अत्याधिक टाउको दुखेर अचेत भएपछि अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिबार मृत्यु भएको चिकित्सकहरुले पुष्टी गरेको थिए ।
चापागाइँसँगै काम गर्दै आएका हरिकृष्ण न्यौपानेले एक्कासी टाउको दुख्यो भनेको केही समयमै अचेत भएपछि अस्पतालमा भर्ना गरिएको जानकारी दिए । साढे दुई वर्षदेखि बैदेशिक रोजगारमा रहेका चापागाई आमाको निधन भएपछि आमाको निधनपछि ८ महिनाअघि घर आएर पुनः साउदी फर्किएका थिए ।
मृतक चापागाई श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । चापागाईको शव सुलैमान फकेह हस्पिटलमा राखिएको त्यहाँबाट हरिकृष्ण न्यौपानेले दिएका छन् । एनआरएनए क्षेत्रीय समन्वय समिति जेद्दाको आज बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मृतक अरुणको शव नेपाल पठाउन महावाणिज्य दूतावाससँग पहल अघि बढाएको छ ।
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पूर्व उपाध्यक्ष समेत रहेका चापागाई नेपाली श्रमिक सञ्जालका विभिन्न अभियानमा आवद्ध हुँदै आएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका उपाध्यक्ष ध्रुवकुमार रिजालले विज्ञप्ती जारी गर्दै जुझारु र समाजसेवी युवा गुमाउनु पर्दा अतुलनिय क्षति पुगेको बताएका छन् ।
त्यसैगरी नेपाली श्रमिक सञ्जाल एवम् सामाजिक अभियन्ता तथा पिएनसीसी समन्वयकर्ता अञ्जन पोखरेलले पनि विज्ञप्ती निकालेर सामाजिक सेवा र विशेषगरी नेपाली श्रमिकहरुका समस्या समाधानका लागि पैरवी पहलकर्ता चापागाईलाई गुमाउन पर्दा नेपाली समाज जेद्दालाई ठुलो क्षति भएको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार १३:४०