सूचनाको शक्ति - The Power Of Information

        

जडिबुटी निर्यातमा ट्रान्जिट पर्मिटको झमेला

फाइल तस्वीर

बाँके । नेपालगन्ज हुँदै भारतको उत्तर प्रदेशबाट निर्यात हुने जडिबुटीमा ट्रान्जिट पर्मिटका नाममा अनावश्यक झमेलाका कारण भारततर्फ जडिबुटी निर्यातमा समस्या देखिएको छ । जडिबुटी व्यवसायी संघका अनुसार भारतको उत्तर प्रदेशको वन विभागले लगाएको ट्रान्जिट पर्मिटको झमेलाका साथै कस्टम, खाद्य प्रयोगशाला, प्लान्ट क्वारेन्टाइन लगायत चेकजाँचका नाममा व्यवसायीलाई समस्यामा पार्ने गरिएको यहाँका व्यवसायीहरुले बताउँछन् ।
सरकारले जडिबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको जनाइरहँदा सरकारी उदासिनताकै कारण जडिबुटी निर्यातमा समस्या भइरहेको व्यवसायीहरुको गुनासो छ । रुपैडिहा नाकाबाट निर्यातका क्रममा झमेला हुन थालेपछि भारतको उत्तर प्रदेश अन्तरगतकै सुनौली नाकाबाट निर्यातमा सहज देखिएको भन्दै नेपालगन्जका धेरै व्यवसायीले सुनौली नाका प्रयोग गर्न थालेका छन् । जसका कारण नेपालगन्जबाट रुपैडिया नाका हुँदै भारत निर्यात हुने जडिबुटीको मात्रा बर्सेनि घट्दै गएको छ ।
एक दशक अघिसम्म वार्षिक ७० लाख किलो जडिबुटी यस नाकाबाट भारत निकासी हुने गरेकोमा हाल ज्यादै न्यूनमात्र निर्यात हुने गरेको नेपाल जडिबुटी व्यवसायी संघ नेपालगन्जको तथ्यांकले देखाउँछ । विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०७२/७३ मा ४६ लाख ३८ हजार २१५ किलो जडिबुटी निकासी भएकोमा ०७३/७४ मा ४० लाख ५० हजार ६७४ किलो निकासी भएको छ । तर, ०७४/७५ मा निकासी दर घटेर २७ लाख ५४ हजार २०० किलोमात्र जडिबुटी निकासी भएको संघका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए ।
यस आर्थिक वर्षमा भने भर्खरैमात्र खरिद कार्य सुरु भएको छ । रुपैडिया नाका हुँदै भारततर्फ निकासी हुने जडिबुटीमा सबैभन्दा बढी रिठा, तेजपात, काउलोबोक्रा, चिराइतो, दालचिनी, कुरिलो, पखानवेद, अमला, चुत्रो बोक्रा, टिमुरलगायतका जडिबुटी निर्यात हुने गरेको बताइएको छ । यतिबेला भारतमा जडिबुटीको मूल्य घटेका कारण नेपालको जडिबुटीले मूल्य नपाएको कार्यालय प्रमुख खरेलको भनाई छ । भारततर्फ जडिबुटी निर्यातका लागि ट्रान्जिट पर्मिटका नाममा अनावश्यक झमेला हुन थालेपछि निकसी घटेको उनको भनाई छ ।
‘रूपैडिहा नाकाबाट २० वर्षदेखि ट्रान्जिट पर्मिटको सास्ती खेप्दै आएका व्यवसायी अहिले चेकजाँचका नाममा विभिन्न सास्ती खेप्न बाध्य छन्,’ संघका कार्यालय प्रमुख खरेलले भने । व्यवसायीका अनुसार भारतले अनावश्यक चेकजाँच लगायत निकासी प्रक्रियाका नाममा सास्ती दिँदा जडिबुटी ढुवानी गरेको सवारी साधन सातादेखि महिना दिनसम्म बीच बाटोमै रोकिने गर्छन् । जडिबुटी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष मोहम्मद याकुव अन्सारी भारततर्फ जडिबुटी निकासीमा देखिएको समस्या समाधानका लागि विभिन्न निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताउँछन् ।
उनले भने, ‘रूपैडिहा नाकाबाट २० वर्षदेखि ट्रान्जिट पर्मिटको सास्ती खेप्दै आएका छौं । सरकारले यस विषयमा अहिलेसम्म पहल गर्न सकिरहेको छैन ।’ प्रदेश सांसदसमेत रहेका अन्सारीले भारतले अव्यावहारिक नीति, नियम लगाए पनि व्यवसायीका समस्या समाधान गर्न सरकारले कुनै चासो नदिएको बताए । ‘सरकार एकातिर जडिबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको भन्छ,’ अध्यक्ष अन्सारी भने, ‘अर्कोतर्फ सरकारी उदासिनताकै कारण भारततर्फ जडिबुटी निर्यातमा निकै समस्या छ ।’

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतवार ०७:११