सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीको नाम राखेर नागरिकताको प्रतिलिपी !

बाँके । देशभर हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बाँकेका एक कानुन व्यवसायीले आफ्नो नागरिकतामा श्रीमतीको नाम राख्दै पहिलो प्रतिलिपी निकालेका छन् । सूचना अभियन्तासमेत रहेका अधिवक्ता विश्वजीत तिवारीले नागरिकतामा श्रीमतीको नाम राखेर नागरिकता लिएका हुन् ।
अधिवक्ता तिवारीले सबैले आफ्नो नागरिकतामा नागरिकतामा बुबा आमा र श्रीमतीको नाम उल्लेख गर्दा समान अधिकार झल्किने बताउँदै भने, ‘महिला हिंसा न्यूनीकरणका लागि सचेतना फैलाउन नागरिकतामामा आमा र श्रीमतीको नाम थपेको हुँ । यसले महिला र पुरुषको अधिकारमा पहुँच देखाउँछ ।
नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरेसँगै पछिल्लो समयमा आमाको नाम राखेर नागरिकता बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए । उनका अनुसार आमा र श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिने अधिवक्ता तिवारी जिल्लामै पहिलो हुन् ।
प्रशासकीय अधिकृत रामकुमार सोनकरले श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिँदा समाजमा समानताको आभास हुने भएकाले यो अनुकरणीय कार्य भएको बताउँदै भने, ‘उहाँको यो उदाहरणीय कार्य हो ।’ पछिल्लो व्यवस्थाअनुसार, आमाको नाम राखेर नागरिकता बनाउने गरिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल गराउन नागरिकतामा श्रीमतीको नाम लेखाएको अधिवक्ता तिवारीको भनाई छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १४:५२