सूचनाको शक्ति - The Power Of Information

        

सेनाका जर्नेल खत्रीले देखाए राजधानीभित्रै ‘लीला’

बाँयाबाट क्रमश: जर्नेल ध्रुब खत्रीका भाई राजेन्द्र खत्री, पीडित सैँजु, बाटो छेकेर बसेको ध्रुब खत्रीको घर

बाँयाबाट क्रमश: जर्नेल ध्रुब खत्रीका भाई राजेन्द्र खत्री, पीडित सैँजु, बाटो छेकेर बसेको ध्रुब खत्रीको घर


काठमाडौं । राजधानी उपत्यकाभित्रै नेपाली सेनाका जर्नेल ध्रुब खत्रीले शक्तिको दुरुपयोग गरेर १३ वर्षदेखि गाउँलेमाथि थिचोमिचो र अन्याय गर्दै आएको रहस्य बाहिर आएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुमा जर्नेल खत्रीले सडक विस्तार गर्न दिएका छैनन् । वडा नम्बर ७ का वडा सदस्य अर्जुन खतिवडाले बाटो विस्तारमा खत्री परिवारले ठूलो असहयोग गरिरहेको बताए ।
‘मैले बाटो बनाउन पहल गरेँ । खत्री परिवारलाई सहयोगका लागि आग्रह गरेँ । सहयोग मिलेको छैन’, उनले भने, ‘बाटो कालोपत्रे गर्ने भनेर ठेक्कामा गइसकेको छ । ठेकेदारले छिटो गर्न दवाव दिइरहेको छ ।’ स्थानीयले शक्ति हुनेहरूले यो देशमा जे गरे पनि हुने गुनासो गरेका छन् । जर्नेल ध्रुब खत्रीको हर्कतबाट स्थानीयहरू १३ वर्षदेखि पीडित हुँदै आएका हुन् । जर्नेल ध्रबु खत्रीले आफ्नो घरको अगाडि रहेको गरिव परिवारको श्याम सैँजुको जग्गामा धेरै काटेर बाटो बनाउन दवाव दिएको रहस्य खुलेको छ ।
पीडित श्याम सैँजुले आफूहरू गरिव भएकै कारण जर्नेल ध्रुब खत्रीको परिवारले थिचोमिचो गर्दै आएको गुनासो गरे । सैँजुले आफूहरूको पक्षमा बोलिदिने कोही नहुँदा जर्नेल ध्रुब खत्रीको परिवारले जग्गामा आँखा लगाएको बताए । ‘भूकम्पको बेला घर भत्कियो । घर बनाउन सकेका छैनौँ’, सैँजुले भने, ‘हाम्रै जग्गा धेरै काटेर जर्नेल ध्रुब खत्रीको घर र जग्गा जोगाउन दवाव दिइरहेका छन् ।’ जर्नेल ध्रुब खत्रीका भाई राजेन्द्र खत्रीले जग्गा विवाद रहेको भन्दै समाचार र तस्बिर नलिन पत्रकारहरूलाई धम्की समेत दिएका छन् ।

‘यो सार्वजनिक कुरा होइन । तपाईहरूले भिडियो र तस्वीर नखिच्नुस्’, राजेन्द्र खत्रीले सिधा कुरा जनतासँग नामक टेलिभिजन कार्यक्रमका क्यामराम्यान र पत्रकारलाई धम्काउँदै भने, ‘यो हाम्रो झगडा हो ।’ राजेन्द्र खत्रीले क्यामरा खोस्ने प्रयास समेत गरेका थिए । आठ फिटको बाटोलाई स्थानीय तहले २० फिट बनाउने निर्णय गरेको छ । बाटो विस्तारका लागि सबै ठाउँमा काम भैसकेको छ । तर, जर्नेल ध्रुब खत्रीको जग्गा काटिने भएपनि उनले अबरोध गरेर राखेका छन् ।
जर्नेल ध्रुब खत्रीले स्थानीयलाई जग्गाको विषयलाई लिएर बेलाबेला धम्काउने समेत गरेको स्थानीयले गुनासो गरेका छन् । वडाध्यक्ष रविन्द्र सापकोटाले जर्नेल ध्रुब खत्री र श्याम सैँजुबीच सीमा विवाद रहेको बताए । सापकोटाले जर्नेल खत्रीको पर्खाल भत्काउने बताए । वडाध्यक्ष सापकोटाले जर्नेल ध्रुब खत्रीको पक्ष लिने गरेको स्थानीयको आरोप छ ।
जर्नेल ध्रुब खत्रीले गरिव परिवार श्याम सैँजुको जग्गामा आँखा लगाएको स्थानीयकै आरोप छ । आफ्नो घर भत्किने भएपछि जर्नेल ध्रुब खत्रीले डर धम्की र शक्ति देखाएर १३ वर्षदेखि बाटो विस्तार गर्न नदिएको वडा सदस्य खतिवडाले बताए । जर्नेल ध्रुब खत्रीले बाटो विस्तारमा अबरोध गरेपछि सिङ्गो गाउँ उनीविरुद्धमा उत्रिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ११:१७