सूचनाको शक्ति - The Power Of Information

        

राप्तीपारिको पीडा : २१ वर्षसम्म पनि बलेन विजुली

बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा विजुलीका पोल गाडेको २१ बर्ष भयो । २१ बर्ष वितिसक्दा पनि पोलमा तार झुण्ड्याइएको छैन । २०५६ सालको निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेद्वारीसँगै विजुलीका पोल गाडेका थिए । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ ।
‘पोल गाडेको २१ वर्ष भयो, अहिलेसम्म बत्ती बलेको छैन,’ नरैनापुरका मोहम्मद खानले भने, ‘अहिलेसम्म पोल हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।’ नरैनापुर गाउँपालिकाका ६ वटा वडामा पोल गाडिसकिएको भए पनि हालसम्म तार तानिएको छैन । त्यस क्षेत्रमा जोकोही पुग्दा त्यहाँका बासिन्दाको एउटै प्रश्न हुन्छ, ‘बत्ती कहिले बल्छ ?’ सही जवाफ भने कसैसँग हुँदैन । सबैको एउटै जवाफ हुन्छ, ‘हामीले पहल गरिरहेका छौं, अब छिट्टै बत्ती बल्छ ।’
‘निर्वाचनको माहोल आफ्नो पक्षमा पार्नका लागि भण्डारीले ‘सोर्सफोर्स’ लगाएर नरैनापुरमा रातारात पोल गाड्नुभयो,’ नरैनापुरका मुस्ताक अलि भन्छन्, ‘विद्युत कार्यालयको कार्ययोजना अनुरुप यहाँ पोल गाडेको भए सायद अहिलेसम्म बलिसक्थ्यो । निर्वाचन जित्न पोल गाडेको भएर अहिलेसम्म बत्ती बलेन ।’ यो सँगसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा विजुली बलिसकेको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले विद्युत कार्यालयले सिधै हेर्नुभन्दा पनि सामुदायिक विद्युतीकरण अन्तरगत राखिएकाले ढिलाई भएको बताए । उनले भने, ‘कार्ययोजना अनुसार पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताहरुको सोर्सफोर्समा पोल गाडियो, त्यसकारण पनि ढिलाई भएको हो ।’
गरीब जनताको बसोबास हुनु र सामुदायिक विद्युतीकरणमा जनताको पनि ‘योगदान’ देखिनुपर्ने तथा ठेकेदारको बदमासीले नरैनापुरमा बत्ती बल्न सकेको छैन । नरैनापुरको विद्युत बाल्नका लागि जिल्लाको विद्युत कार्यालयले यो वर्ष ४० लाख रुपैयाँ विनियोजन गरेको यादवले जानकारी दिए । ‘यो पैसाले हामीले नरैनापुरको शुरुवाती सीमाबाट काम शुरु गर्छौ, यादवले भने, ‘राप्तीसोनारीको सीमा जमुनीबाट ४० लाखको काम शुरु हुन्छ ।’
क्षेत्रीय विद्युत कार्यालयका प्रमुख मनोजकुमार सिंहले नरैनापुरमा बत्ती बाल्नका लागि २२ करोड रुपैयाँ छुट्याएको र टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । क्षेत्रीय प्रमुख सिंहले तीन महिनामा सव स्टेशन बन्ने र चैत्रसम्ममा ३३ केभी लाइन तान्ने काम भइरहेको बताए । उनले डेढ वर्षभित्र नरैनापुरमा बत्ती बल्ने आश्वासन दिए ।
नरैनापुर क्षेत्रबाट चुनाव जितेका सांसद महेश्वर गहतराजले विद्युतका लागि केन्द्रीय स्तरबाट नीतिगत निर्णयहरु गराइसकेको बताए । राप्तीसोनारी गाउँपालिकाको धामपुर र नरैनापुरको विद्युत जोडिएको छ । राप्तीसोनारीमा कात्तिक ७ गते काम गर्ने भनेर सांसद गहतराजले नै लाइनमा परेका रुख काट्न सुरु गरेर उद्घाटन गरेका थिए ।
तर उद्घाटनपछि अहिलेसम्म त्यहाँ ठेकेदारले काम गरेका छैनन्,’ सांसद गहतराजले भने, ‘ठेकेदारले जनतामाथि अपराध गरिररहेका छन् ।’ नरैनापुरका किसान रामविलास पासी र इदवारी धोवीले बत्तीको सुविधा हुने बित्तिकै सिंचाई गरेर राम्रो उब्जनी गर्न सक्ने बताए । समतल क्षेत्र र उब्जाउ भूमि रहेको नरैनापुरमा विजुलीबत्ती, सिंचाई, मल, बिउको समस्याले राम्रो उत्पादन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १०:५४