सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको ब्यस्त बजारमा मट्टितेल छर्केर जलाइए पाँच वटा अटोरिक्सा

बाँके । अज्ञात समुहले मट्टितेल छर्केर नेपालगन्जमा पाँच वटा अटोरिक्सामा आगजनी गरेको छ । नेपालगन्जको धम्बोझी चोक नजिकै गएराती राती १२ बजे अटोरिक्सामा आगजनी गरेको छ भने अन्य तीन पसलमा पनि आगजनीको प्रयास गरेको छ ।
धम्बोझी चोकबाट खजुरा जाने बाटोमा नेपाल राष्ट्र बैंकको पर्खाल सकिने वित्तिकै पार्किङ्ग गरेर राखेको भे १ ह १२२०, भे १ ह २३३९, कोनपा १५५, जमुनि गाविस २२९ र रनियाँपुर गाविस ८६ नं.को अटोरिक्सामा आगजनी भएको हो । धम्बोझी चौकमा प्रहरी बीट रहेको छ भने त्यस क्षेत्रमा २४ सैं घण्टा प्रहरी तैनाथ हुने गर्छ ।
आगजनी गरिएका अटोरिक्सामध्ये चार वटा अब्दुल लतिफ हल्वाईको र १ वटा अब्दुल रसिद हल्वाईको रहेको जनाइएको छ । प्रहरीको नियमित गस्ती भइरहने सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील रहेको सो क्षेत्रमा घटना घट्नु अत्यन्तै दुखद भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
पार्किङ्ग गरेर राखेको अवस्थामा १२ दिन अगाडि पनि नेपालगन्ज–१ का रहिश हल्वाईले किनेको एक साता नहुँदै मट्टितेल छर्केरै आगजनी भएको थियो । साथै चारदिन अघिमात्र स्थानीय रामचन्द्रले सञ्चालन गरेको किराना पसलमा समेत मट्टितेल छर्केर आगजनी भएको थियो भने दुई दिनअघि घरमै पार्किङ्ग गरेर राखिएको नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको मोटरसाइकलमा समेत आगजनी गरिएको थियो ।
‘घटनास्थल धम्बोझी चोक र जिल्ला प्रहरी कार्यालय बाँकेको बिचमा पर्छ । साथै नजिकै नेपाल राष्ट्र बैंक र २४ सै घण्टा प्रहरीको सुरक्षा विट हुँदा पनि निरन्तरको आगजनी हुँदा प्रहरी र सुरक्षा निकायले सुइँकोसम्म नपाउनु अत्यन्त दुखद कुरो हो,’ प्रवक्ता रिजालले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र अर्यालले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले बुधबार रातिको मात्र घटना जानकारीमा आएको तर, अरु घटना प्रहरीलाई जानकारी नभएको बताउदै भने, ‘हामी गहन अनुसन्धानमा छौ ।’
घटनापछि घटनास्थलमा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा, उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहीद मन्सुरी चुन्ना, प्रवक्ता अभयकुमार बस्नेत, सदस्यहरु श्यामसुन्दर अधिकारी, तपेन्द्र शाहलगायतले घटनाको निन्दा गर्दै दोषीहरुको खोजी गरी कडा कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १४:१६