सूचनाको शक्ति - The Power Of Information

        

जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट । जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागार प्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ ।
उनी भन्छन्, ‘अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो । कारागारको पुरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परिरहेको छ ।’
कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ । वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ । कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा झन् समस्या थपिएको छ ।

कारागारभित्रै स्वस्थ्य शिविर
बुधबार जिल्ला कारागारका कैदीबन्दीलाई क्षयरोगको संक्रमण भएको भन्दै कारागारभित्रै निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरिएको छ । खाडाचक्र नगरपालिका स्वाथ्य एकाइको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कैदीबन्दीको जाँच गरिएको उक्त वरिष्ठ अहेव कटक महत बताउँछन् ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार ११:५२