सूचनाको शक्ति - The Power Of Information

        

२१ बर्षदेखि जीर्ण रानीतलाउले जुनी फेरेपछि…

बाँके । लामो समयदेखि रेखदेखको अभाव र बेवास्ताका कारण सुख्खा बनेको पोखरीमा टन्न उम्रिएका घाँसको सरसफाईबाट यसको सम्भारको काम थालिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको यो सुरुवातले लथालिङ्ग बनेको रानीतलाउले जुनी फेर्ने आशा बढेको थियो । अहिले रानी तलाउले पुरै जुनी फेरेको छ ।
मेयर डा.धवल शमसेर राणाले निर्वाचित भएपछि असार २२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै रानीतलाउ जीर्णोद्धार गर्ने उच्च प्राथमिकता साथ निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन स्वरुप अहिले रानीतलाउले आफ्नो जुनी फेर्दै नेपालगन्ज उपमहानगरभित्रको आकर्षक पर्यटकीय क्षेत्रका रुपमा दरिएको छ ।
नेपालगन्जसँगै रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चारदशक अघिसम्म रानीतलाउको स्वरुप नै अर्को थियो । चारैतिर खुला अवस्थाको तलाउ (पोखरी)मा स्थानीयले नुहाउने, धार्मिक कर्मकाण्ड गर्ने गरेका थिए । त्यसबेला आकाशे पानी जम्मा भएर पनि सफा नै हुने गरेकाले सर्वसाधारणले नुहाउन प्रयोग गर्ने गरेको जानकार बताउँछन् ।
‘रानीतलाउमा चार कुनामा रहेका स्तम्भमा पौडी खेल्नेहरुले हाम फाल्ने र मध्यभागमा रहेको स्तम्भमा पुगेर विश्राम गर्ने गर्दथे,’ नेपालगन्ज वडा ८ निवासी विष्णुलाल कुमालले भने । त्यतिमात्र नभइ रानीतलाउको पूर्व भागमा रहेको ठूलो पिपलको रुखमा पूजाआजा गर्ने र दिवंगत भएकाहरुले पितृ तर्पणलगायतका धार्मिक कर्म गरिआएका थिए ।
होली पर्वका बेला होली जलाउने र पूजा अर्चना गर्ने परापूर्वदेखिको परम्परा अद्यापि कायम नै रहेको छ । अहिले पनि होलिका दहन रानीतलाउको पूर्व निर्धारित स्थानमा नै गरिन्छ । त्यसका लागि वर्षमा एक पटक पूर्वको ढोका खोलिन्छ । रानीतलाउको मुहार फेर्ने र त्यसमा जलविहार गर्ने योजना वि.सं. २०४९ मा निर्वाचित मेयर विजयकुमार गुप्ताको समयमा नै बनेको हो ।

२१ बर्षदेखि जीर्ण रहेको रानीतलाउको पुनःनिर्माणपछि डुंगा सञ्चालन भएसँगै नेपालगन्जबासी खुशी भएका छन् ।

नेपालगन्ज नगर विकास समितिको तत्कालीन अध्यक्षसमेत रहेका गुप्ताले न्यूरोड निर्माण, एकलैनी बाटो विस्तार, रानीतलाउ तथा तत्कालीन महेन्द्र पार्कको ढाँचामा परिवर्तन गरी हेर्ने लायक बनाउने योजना गरिएपनि आर्थिक कारण र मेयर गुप्ताको कार्यकाल सकिएकाले रानीतलाउ र महेन्द्र पार्क योजनाले पूर्णता पाउन सकेको थिएन ।
२०५४ मा मेयर निर्वाचित धवल शमसेर राणाको पालामा रानीतलाउको मुहार फेर्नुका साथै बोटिङ्ग गर्ने व्यवस्था गरियो । तर, राणाको कार्यकाल सकिएको केही समयपछि स्थानीय निकाय सञ्चालन कर्मचारीहरुबाट हुन थाल्दा रानीतलाउ उपेक्षित बन्न पुग्यो । भएको बोटिङ्ग बन्द हुनुका साथै पोखरीको सौन्दर्यता बनाइराख्न उदासीन कर्मचारीहरु रानीतलाउ माछापालन गर्ने र त्यसको ठेक्का दिने कामतिर उन्मुख भए ।
यसबीचमा बेलाबखत रानीतलाउ जीर्णोद्धार गर्ने नाममा राम्रै धनराशी छुट्टयाएर खर्च गरिएको देखाइए पनि त्यस अनुरुप काम हुन सकेको थिएन । आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा कोषमा रहेको केही रकमले रानीतलाउको सम्भार सुरु गरिएको थियो । पूर्ववत् सञ्चालन गर्नेजस्तो महत्वाकांक्षी योजनाले पूर्णता पाएसँगै नेपालगन्जबासी खुशी भएका छन् ।
२१ बर्षदेखि जीर्ण रहेको रानीतलाउको पुनःनिर्माणपछि डुंगा सञ्चालन भएसँगै नेपालगन्जबासी खुशी भएका छन् । नेपालगन्जको त्रिभूवनचौक पूर्वमा रहेको रानीतलाउमा डुंगा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । जीर्ण बनेको रानीतलाउलाई स्थानीय सरकारले संरक्षण गरेर सञ्चालनमा ल्याएपछि नगरबासीहरुले खुशी ब्यक्त गरेका छन् ।
ताल सञ्चालनमा आएलगतै आन्तरिक पर्यटक मात्रै नभएर भारतीय पर्यटकहरु पनि डुंगा सयरका लागि आउन थालेको नेपालगन्ज उपमहानरपालिका–८ का वडा सदस्य विवेक उपाध्यायले बताए । ‘रानीतलाउमा डुंगा सयर गरेर मनोरञ्जन लिने पर्यटकहरुको शनिवार धेरै भीड हुन्छ,’ वडा सदस्य उपाध्यायले भने, ‘यहाँ घुम्ने पर्यटकहरु खुशी भएर फर्किनुहुन्छ, यसले हामीलाई पनि रानीतलाउलाई थप व्यवस्थित गर्ने हौसला मिलेको छ ।’
यहाँ मनोरञ्चजन लिनका लागि बालबलिकादेखि लिएर वृद्धवृद्धाहरु पनि आउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले रानीतलाउको पुनःमर्मत गरी सञ्चालनमा ल्याएसँगै घुम्नका लागि नेपालगन्ज आउने भारतीय पर्यटकहरुको रोजाइँमा परेको र आन्तरिक पर्यटकहरुको पनि आकर्षण बढेको स्थानीयबासी अञ्जना चतुर्वेदीले बताए ।
उनले भनिन्, ‘बालबालिकाहरुका लागि मनोरञ्जन लिने उपयुक्त स्थान बनेको छ ।’ नेपालगन्जमा रानीतलाउको चर्चा सुनेर घुम्न आएको बताउँदै स्थानीय मेनुका रावतले भनिन्, ‘संरक्षण नभएर जीर्ण अवस्थामा रहे पनि अहिले रानीतलाउलाई नेपालगन्जकै रमाणीय ठाउँमा परिणत भएको छ । यसको प्रचारप्रसार गरी थप व्यवस्थित गर्न स्थानीय सरकारले अझै सक्रियता देखाउनुपर्छ ।’
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक हिसाबले पनि दरिलो अवस्थामा रहेको रानीतलाउलाई ६ वटा प्लाष्टिकका डुंगा र बालबालिकाले खेल्ने सामग्रीहरु निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । रानीतलाउ बोटिङ् बिहार समितिले रानीतलाउमा प्रवेश गर्न रु.५ र बोटिङ् गर्नका लागि रु.२५ टिकट मुल्य तोकेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार ०८:१६