सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा लैङ्गिक रुपान्तरण सम्बन्धी शिक्षकलाई तालिम

बाँके । शिक्षकहरुका लागि शिक्षामा लैङ्गिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम आजदेखि नेपालगन्जमा सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित लैङ्गिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजना अन्तरगत तालिम सुरु भएको हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार गरी प्रारम्भीक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकालाई लागू गरेको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायतका सामग्रीहरूको प्रयोगमा थप सहजता प्रदान गर्न तथा सरल तरिकाले अध्ययन गरेको कुरा बुझ्न र पढ्न सकून् भने उद्देश्यका साथ शिक्षकहरुलाई तालिम दिन लागिएको हो ।
विद्यालय तहका प्रारम्भिक कक्षाहरूमा अध्ययन गर्ने बालबालिकाको अपेक्षित सिकाई उपलब्धि हासिल गराउन नेपाल सरकारले राष्ट्रिय प्रारम्भिक कक्षागत पढाइ प्रवर्धन सीप नीति ल्याएको छ । विभिन्न अध्ययनहरुले प्रारम्भीक कक्षाहरूमा सिकाइ उपलब्धी कमजोर देखिएकाले सन्दर्भ कार्यक्रममार्फत विद्यालयहरूलाई थप सहयोग गरी पठनसिप प्रवर्धन गर्नु जरुरी देखिएकोले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जका सिकाई संयोजक संजीव जोशीले घरपरिवार र विद्यालयमा बालिका शिक्षामा जोड दिनुपर्ने बताए । उनले भने ‘बालिकाहरुको शिक्षा र अन्य काममा छोरासरह ब्यवहार नभएका कारण बालिकाहरु माथिल्लो कक्षामा प्रतिश्पर्धा हुन नसक्नु मुख्य कारण हो ।’
जोशीले प्लान नेपालबाट सञ्चालित परियोजनाहरुमा लैङ्गिकमैत्री कार्यक्रम सञ्चालन भैरहेको र परियोजनामार्फत विद्यालय तहमा पनि बिभिन्न कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । तालिममा ६ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, कक्षा शिक्षक, बाल विकास केन्द्रका सहजकर्ता गरी २४ जनाको सहभागीता रहेको छ । तालिमको सहजीकरण कार्यक्रम अधिकृत कल्पना अधिकारी र सुपरभाइजर रज्जव अलि वागवानले गर्ने कार्यक्रमका सिनियर सुपरभाइजर लक्ष्मी शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १५:२२