सूचनाको शक्ति - The Power Of Information

        

राजतन्त्र पुनःस्थापनाको आन्दोलन सल्काउँदै पूर्वमाओवादी

काठमाडौं । हिन्दू राज्य र राजतन्त्र पुनःस्थापनाका लागि विभिन्न तयारी भइरहेका बेला पूर्वमाओवादीहरू पनि अभियानमा जोडिएका छन् । नवलपरासीबाट माओवादी समर्थक र हिन्दुवादी ‘वीर गोर्खाली’ले श्रीपेच र राजा फर्काउने तयारीका लागि विशाल भेलाको शुक्रबार आह्वान गरे ।
हिन्दू राज्य र राजसंस्थामा कुनै न कुनै रूपमा पुर्नोदयको तयारी थालेको पूर्वराजा ज्ञानेन्द्र शाहको जोडबलमा विभाजित पूर्वपञ्चहरू पनि एकीककृत भई राजनीतिक एजेन्डा स्थापित गराउने तयारीमा रहेका बेला जिल्लामा सडक आन्दोलनका लागि विभिन्न समूह र संगठन सक्रिय हुन थालेका हुन् । वीर गोर्खाली र पूर्वमाओवादी समर्थकबाहेक शिव सेना नेपाल, विश्व हिन्दू महासंघ, कर्मवीर लगायतका संघ संगठन हिन्दू राज्य र राजतन्त्रका निम्ति प्रत्यक्ष र परोक्ष रूपमा आन्दोलित छन् ।
हिन्दू राज्यकै पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति सदस्यहरू पनि सकारात्मक छन् । महामन्त्री डा. शशांक कोइरालालगायतका नेता त खुलेरै हिन्दू राज्यको अभियानमा सक्रिय छन् । वीर गोर्खालीले बोलाएको भेलाले सडकमा हिन्दू राज्य र राजतन्त्रलाई पुर्नस्थापना गराउन मेचीदेखि महाकालीसम्म जागरण अभियान कसरी चलाउने भन्ने तयारी थालेको छ । उक्त भेलामा अयोग्य भएका पूर्वलडाकुदेखि विभिन्न झुन्डमा उभिएका पूर्वमाओवादीका सदस्यहरूले राष्ट्रिय सञ्जाल बनाएर आन्दोलनको तयारी गर्नेछन् । पूर्वराजा ज्ञानेन्द्रले भने कुटनीतिक सहयोगका लागि भारतीय संस्थापनसँग सम्बन्ध बढाएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चार पटक गोप्य रूपमा भेट गरेको दाबी गरिएको छ भने मोदीका सल्लाहकारहरूसँग खुला रूपमा नै छलफल गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री तथा मोदीका विश्वासपात्र योगी आदीत्यनाथले ज्ञानेन्द्रलाई खुलारूपमा नै सहयोग गरेका छन् । आदीत्यनाथ नेपालमा हिन्दूत्व कायम गर्न मधेसमा समेत प्रभाव छाड्नका लागि जनकपुरमा आउन लागेको चर्चा चलाइएको छ । आदीत्यनाथ विश्व हिन्दू महासंघसँग नजिक छन् । मोदीको गत नेपाल भ्रमणमा पनि महासंघका पदाधिकारीलाई उच्च सम्मानका साथ मधेसमा स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतवार ०८:०३