सूचनाको शक्ति - The Power Of Information

        

सहमतिमा सहबास, रिलेशन विग्रिए बलात्कार !

काठमाडौं । राधिका (नाम परिवर्तन) र कृष्ण (नाम परिवर्तन) ५ बर्षसम्म किर्तिपुरमा एमएड अध्ययनका क्रममा पतिपत्नी जसरी बसे । उनीहरूलाई सबैले विवाहित जोडी पनि भन्थे । पढ्नुका अलावा कृष्ण जागिर गर्थे । राम्रो आम्दानी पनि गरिरहेका थिए । उनीहरूले सम्बन्धका सबै आयाम पार गरेका थिए, बिहेको तयारीमा थिए । तर, कृष्णले थप अध्ययन र रोजगारीका लागि अमेरिका जाने निर्णय गरेपछि राधिकाले प्रहरीमा बलात्कार भएको उजुरी दिइन् ।
कृष्णको अमेरिका जाने सपना मात्र तुहिएन, त्यसका लागि तयार गरिएको खर्चसमेत राधिकालाई दिनुपर्यो । ‘लिभ इन रिलेसन’का रूपमा फस्टाइरहेको काठमाडौं कल्चरले कतिका जीन्दगी बनाएको हुनुपर्छ तर धेरैको सपना र भविष्य तुहाएको छ । पश्चिमा कल्चरबाट आएको यस्तो बसाईबाट निरक्षर होइन, साक्षरकै जीवनमा धक्का परिरहेको छ । प्रायः युवती सहमतिमा लामो सहबासका लागि तयार हुने धोका भएपछि प्रहरीसम्म धाउने गरेका छन् ।
एक प्रहरी अधिकारी भन्छन्, ‘यस्ता उजुरी र व्यवाहारिक पक्षलाई छानबिन गर्दा नक्कली सम्बन्ध, सक्कली यौन प्यास मेटाउने काम सहमतिमा हुन्छ र त्यो विग्रिएपछि सबैको जीवन भत्किने गरी बलात्कारका उजुरी पनि आउने गरेका छन् ।’ अहिले प्रहरीमा बढेको बलात्कारका उजुरीमा आपराधिक मानसिकतामा भएका घटनामात्र छैनन्, लिभ इन सम्बन्धले निम्त्याएका परिघटनाबारे पनि पर्याप्त आउने गरेका छन् ।
फरक प्रकृति र घटनाक्रम देखाउँदै उजुरी आए पनि लिभ इन रिलेशन विग्रिएपछि बलात्कारका नाममा प्रहरीसम्म पुग्ने कम छैनन् । कोरियामा रहेकी एक युवतीसँग प्रेममा परेका युवा त्यहाँसम्म पुगे । कोरियामा सँगै बसे पनि । नेपाल आएपछि अर्कै युवतीसँग बिहे गरेपछि युवती केही बर्षअघि प्रहरीमा बलात्कारको उजुरी लिएर पुगिन् । त्यतिमात्र होइन, ति युवतीले जिल्ला अदालत काठमाडौंमा पनि युवकविरुद्ध बलात्कार मुद्दा लगाइन् । तर, दुवैको दाबी देखेपछि अदालतले युवकलाई धरौटीमा रिहा गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीका अनुसार काठमाडांैमा पछिल्लो समय लिभ इन रिलेशनसीप बलात्कारको कारक पनि बनिरहेको छ । असमझदारी भएपछि यस्ता उजुरी बलात्कारका रूपमा प्रहरीसम्म पुग्ने गरेका छन् । एक अधिकारी भन्छन्, ‘पहिला सहमतिमा बस्ने र असमझदारी हुँदै कुरा नमिलेपछि प्रहरीसम्म यस्ता विषय आइपुग्ने गरेका छन् ।’ प्रत्येक बर्ष कम्तिमा ५० भन्दा बढी यस्ता उजुरीको प्रहरीले सामना गर्नुपरेको छ ।
कतिपय उजुरीलाई घटनाका आधारमा प्रहरीले सहमतिको विन्दुमा पुराउने गरेको छ भने कतिपयमा कारबाही गर्न बाध्य हुन्छ । लिभिङ टुगेदरलाई सम्बोधन गर्ने छुट्टै कानुन नभएकाले यस्ता मुद्दा अनुचित प्रभावमा वा प्रलोभनमा पारेर शारीरिक सम्बन्ध बनाएको महलअन्तर्गत अदालतमा जाने गरेको प्रहरी अधिकारी बताउँछन् । कतिपय घटनामा पुरुषले आत्मनिर्भर महिलासँग लिभिङ रिलेसनमा बसेर आर्थिक लाभ लिने र पछि धोका दिने गरेको भेटिएको छ ।
यस्ता घटनामा खासगरी राम्रो आर्थिक अवस्था रहेका एकल महिलासँगको सम्बन्ध, वैदेशिक रोजगारी र अध्ययनलगायतको शिलशिलामा बाहिर रहेका पुरुषका पत्नी वा डिभोर्स गरेका महिलासँगको सम्बन्ध भेटिने गरेको छ । यहि सम्बन्धको असमझदारी पछि बलात्कारजस्ता उजुरीका आधारमा प्रहरीमा पुग्ने गरेको छ । समाजशास्त्रीहरूका अनुसार लिभ इन रिलेशनसीप वा लिभिङ टुगेदर पश्चिमाको संस्कृति भएकाले नेपाली समाज सुहाउँदो हुँदैन । यसको अभ्यास गरिए पनि नेपालमा बिहेकै रूपमा हेरिने भएकाले समस्याहरू देखिने गरेको समाजशास्ज्ञी टिकाराम गौतमले बताएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतवार ०७:५३