ट्राफिकको घुस खाने नयाँ ‘कोड’ : ‘ओई’, ‘ओई ओई’, ‘ओई, ओई, ओई’
।
बाँके । सवारी चालबाट घुस लिने गरेको आरोप लाग्दै आएपछि पछिल्लो समय ट्राफिक प्रहरीले घुस लिने नयाँ तरिका प्रयोगमा ल्याएको खुलेको छ । केही दिनयता ट्राफिक प्रहरीको नयाँ घुस खाने ‘कोड’ले एकदमै चर्चा बटुलेको छ । यसरी चर्चा बटुलेसँगै ट्राफिकको नयाँ ‘कोड’ खुलासा भएको हो ।
बिशेषगरी काठमाडौं उपत्यकाका विभिन्न रुटमा ट्राफिक प्रहरीले घुस खाने नयाँ नयाँ टेक्निक शुरू गरे पनि पछिल्लो समय नेपालगन्जमा समेत यो तरिका वा ‘कोड’को प्रयोग शुरू भइसकेको भेटिएको छ । प्राप्त सूचनाअनुसार ट्राफिक प्रहरीले एकपटक ‘ओई’ भने १०० रुपैयाँको रिचार्ज कार्ड दिनुपर्ने र दुई पटक अर्थात ‘ओईओई’ भने २०० रुपैयाँको रिचार्ज कार्ड दिनुपर्ने नयाँ काइदाको खुलासा भएको छ ।
दुई सय रुपैयाँको रिचार्ज कार्ड माग्दा एक सयको मात्र पुगेपछि ट्राफिकले ‘ओई’ भनेर एक सयको रिचार्ज कार्ड मागेको खुलासा एक भिडियोमार्फत भएको छ । राजधानीमा यो कोड चर्चामा आएको सुनिए पनि नेपालगन्जका हकमा गाडी चालकबाट घुस खानेका नाममा यस्ता कुनै पनि शब्द र भाषा प्रयोग नगरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकयले बताए ।
बाँके ट्राफिक भाषा प्रयोग गरेर मात्र होईन अहिलेसम्म कसैबाट पनि अनाबश्यक रकम नलिएको उनले दाबी गरेका छन् । उनका अनुसार ट्राफिक नियम उल्लघंन गर्नेका हकमा सरकारले तोकेअनुसारको कारवाही गरी जरिवाना मात्र लिने गरिएको छ । यदि राजधानीमा प्रयोग गरिएका भनिएका यस्ता भाषा प्रयोग गरी ड्यूटीमा खटिएका कुनै पनि ट्राफिकले घुस लिएको वा मागेको उजुरी तथा गुनासो आए त्यस्तो गर्ने ट्राफिक प्रहरीमाथि छानबिन हुने र दोषी भेटिए कानूनी कारवाही समेत गरिने प्रहरी निरीक्षक रोकायले जानकारी दिए ।
।