सूचनाको शक्ति - The Power Of Information

        

राप्ती अस्पतालबाट सुरक्षित गर्भपतन गराउने बढ्दै

दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलांले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका रहेको अस्पतालका सूचना अधिकृत कमल सुवेदीले जानकारी दिए । यसरी सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् ।
त्यसैगरी गत आर्थिक वर्षमा भने सो अस्पतालबाट एक हजार ४८ ले सुरक्षित गर्भपतन गराएका थिए । त्यसमा २० वर्षमुनिका ५९ र २० वर्षमाथिका ९८९ ले निःशुल्क गर्भपतन गराए जसमा सबैभन्दा बढी दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले गर्दा केहीले आफ्नो ठेगानासमेत ढाट्ने गरेको पाएको छ ।
अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद सिंहले सरकारी मान्यता प्राप्त अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सल्लाह दिन्छन् । उनी भन्छन्, ‘अस्पतालमा गर्भपतन गराउँदा सबैल देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानूनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन् ।’
असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानै सक्ने, स्वास्थ्यमा समेत जोखिम पुर्याउने भएकाले सरकारले कानूनी मान्यता दिएका स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनुपर्ने बताए । चिकित्सक विनोद सिंहले प्रत्येक महीनामा चार पाँच जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा तथा अत्यधिक रक्तश्राव हुने गरेका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको बताए ।
गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधन प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने उनको भनाइ छ । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ । अविवाहितले पटकपटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उनले बताए । चिकित्सक विनोद सिंहले अस्पतालले आठदेखि १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार तोकिएको मापदण्डअनुसार औजारको सहायताले गर्भपतन गराउने गरेको बताए ।
त्यस्तै १२ हप्तादेखि १८ हप्तासम्मको भने बलात्कार, हाडनाता करणी र आमाको गर्भका कारण ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा मात्र गर्भपतन गरिने कानूनी मान्यता छ । दाङमा सुरक्षित गर्भपतनको मान्यता राप्ती अञ्चल अस्पताल, मेरीस्टोप सेन्टर, तुलसीपुर घोराही उपक्षेत्रीय अस्पताल, नेपाल परिवार नियोजन सङ्घ दाङ लगायतका स्वास्थ्य संस्थाले पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ११:५७