सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीका अघिल्तिर मन्त्री र सचिवहरुको मलिन अनुहार !

मन्त्री र सचिवहरुसँगको बैठकमा प्रम ओली

मन्त्री र सचिवहरुसँगको बैठकमा प्रम ओली

काठमाडौं । प्रधानमन्त्री कार्यालय बनाएको प्रविधि राम्रोसँग चलाउन नजान्दा कतिपय मन्त्रालयका मन्त्री र सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि मलिन अनुहार बनाउनुपरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकका क्रममा यस्तो स्थिति सिर्जना भएको हो । सरकारका सचिवहरुसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।
मन्त्रीहरुको उपस्थितिमा बुधबार ७ मन्त्रालयका सचिवहरुले चौमासिक समीक्षा प्रस्तुत गरेका थिए । ‘पावर प्वाइन्ट’ बाट गरिएको ‘प्रिजेन्टेसन’ का आधारमा कामै नभएकोलाई रातो, काम सुरु भएकोलाई पहेँलो र ठीकै काम भएकोलाई हरियो रंग दिने प्रबन्ध मिलाइएको थियो । भएका कामहरुबारे ‘डाटा इन्ट्री’ गर्नेबारे सबै मन्त्रालयका सचिव र मन्त्रीहरुलाई दुई दुई दिनसम्म राखेर प्रधानमन्त्री कार्यालयले ‘ओरिएन्टेसन’ पनि गरेको थियो ।
तर, दुई दुई दिनसम्म गरिएको ‘ओरिएन्टेसन’बाट पनि मन्त्रालयको नेतृत्व त्यसबारे पारंगत भइसकेको रहेनछ । ‘काम गरेका कतिपय मन्त्रालयको त सबै रातो चिन्हमात्र आयो’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘राम्रोसँग डाटा इन्ट्री गर्न नजान्दा प्रधानमन्त्रीका अगाडि मलिन अनुहार लगाउनुपर्ने स्थिति सिर्जना भयो ।’ सबै मन्त्रालयको ‘प्रिजेन्टेसन’ हेरेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे । ‘अर्काे बैठकमा आउँदा यसरी रातैरातो देख्नु नपरोस्’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी रातैरातो होइन, हरियैहरियोमात्र देख्न पाइयोस् ।’ वर्तमान सरकार बनेको ९ महिना पुगेको बताउँदै ओलीले राम्रोसँग काम हुन नसकेको स्मरण गराए ।
‘बजेट बनेयताको ४ महिनामा धानवाली लगाइसक्नुपर्ने हो,’ उनले भने, ‘तर, यसबीचमा खेत जोत्ने काममात्र भएको छ ।’ मन्त्री र सचिवहरुले देशभित्र र देशबाहिर अनावस्यक भ्रमण गरेको भन्दै उनले त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘मन्त्रीहरु चाहिँ देशभित्र घुम्ने, सचिवहरु चाहिँ विदेश,’ उनले भने, ‘विदेश भ्रमणमा किन गएको हो, त्यसबाट के लाभ भयो, त्यससम्बन्धी लिखित प्रतिवेदन चाहिन्छ ।’ सरकारसँग रहेको मानवस्रोतबाटै थुप्रै काम गर्न सकिने भएपनि ‘कन्सल्ट्यान्ट’ राखिएको भन्दै ओलीले प्रश्न गरे, ‘जताततै कन्सल्ट्यान्ट राखेर कर्मचारीहरुले चाहिँ के काम गर्ने हो ?’ यति भन्दै उनले सरकारी क्षमताको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ०४:३७