फाइल तस्वीर ।
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकी छन् । रास्कोट नगरपालिका–५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिएका डा.राजीव शाह नेतृत्वमा डा.रवीन खातुङ, डा.महेश पौडेल, शल्यक्रिया कक्षमा रहेकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था सामान्य रहे पनि खतरामुक्त गर्न एनआइसियुमा राखिएको डा.शाहले जानकारी दिए ।
उनका अनुसार आमाको अवस्था सामान्य छ । जुम्ल्याहा बालिकाको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने उनले बताए । ‘पेटदेखि छातीसम्मको शरीर जोडिएको शिशु जन्मनु पश्चिम नेपालमा असाधारण र दुर्लभ घटना हो,’ डा.शाहले भने, ‘एमआरआइ वा भिडियो एक्स–रे गरेर उनीहरुको थप शल्यक्रिया गर्नुपर्छ ।’
यद्यपि उनीहरुको शल्यक्रिया सफल हुनसक्ने उनको भनाइ थियो । ललिताका पति विर्खबहादुर बुढाले उनलाई चार दिनसम्म कालीकोट अस्पतालमा राखेका थिए । अस्पतालले पठाएपछि उनले शनिबार बेलुका प्रदेश अस्पताल सुर्खेतमा ल्याए । बुढाले सात दिनसम्म बेथाले च्यापेकी श्रीमती र बच्चा सकुशल देख्न पाउँदा खुशी लागेको बताए ।
उनले शल्यक्रिया गरेर पत्नी ललिता र जुम्ल्याहा बालिका बचाउन सहयोग गर्ने चिकित्सकको टोलीलाई धन्यवाद दिए । ‘एकातिर खुशी छु तर अर्को्तिर आजदेखि चिन्ता पनि थपिएको छ,’ बुढाले भने । बालिकाको जीवन बचाइदिन उनले सरकारसँग सहयोगको याचना गरेका छन् । रासस
।