खजुरा । नेपाल सरकारको नीतिअनुरुप खजुरा गाउँपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ । खजुरा गाउँपालिका अन्तरगतका स्वास्थ्यकर्मी, बिभिन्न राजनैतिक दल, सरोकारवाला निकाय र नागरिक अगुवाहरुलाई स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सम्पन्न भएको छ ।
४६ औं जिल्लाका रुपमा मंसिर १ गतेबाट स्वास्थ्य बीमा लागु हुने भएपछि नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड ५ नं प्रदेश बुटवलले खजुरा गाउँपालिकामा पनि स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिनुका साथै स्थानीय तहमा समिति गठन गरेको हो ।
खजुरा गाउमपालिकाका प्रमुखक किष्मतकुमार कक्षपति संयोजक, सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, पूर्ण खड्का, विश्वराज ढकाल, डा.सन्तोष श्रीपाइली, बेदनिधि प्याकुरेल र सदस्य सचिवमा बोर्डको तर्फबाट दर्ता अधिकृत रहने गरी स्थानीयतह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ ।
समितिले खजुरा गाउँपालिकाका सबै वडामा वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गर्ने निर्णय गरेको छ । बाँके जिल्लाका सबै स्थानीय तहमा समिति गठन, प्रशिक्षणको काम र दर्ता सहयोगी गठन गर्दा समय लाग्ने भएकोले फागुन १ गतेबाट स्वास्थ्य बिमा पूर्णरुपमा लागु हुने स्वास्थ्य बिमा बोर्डका रमेश आचार्यले जानकारी दिए ।
प्रशिक्षणको काम सम्पन्न भइसकेपछि प्रत्येक वडामा दर्ता सहयोगी चयन हुनेछन् र उनै दर्ता सहयोगीले घरघरमा गएर स्वास्थ्य बिमाको काम अगाडी बढ्ने स्वास्थ्य बिमा बोर्डका गणेश आचार्यले जानकारी दिए । खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपतिले स्वास्थ्य बिमा कार्यक्रम जनताका लागि अति उपयोगी भएकोले बिमा कार्यक्रम सफल पार्न सबैको जिम्मेवारी भएको बताए ।
।