बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मनिकापुरमा ८०/२० अभियान शुरू भएको छ । वडाको समग्र विकासमा ८० प्रतिशत वडा कार्यालयको र २० प्रतिशत स्थानीयको लगानी गर्ने सहमतिअनुसार नेपालगन्जमा पहिलो पटक अभियानकै रूपमा उक्त वडामा सो कार्यक्रम लागु गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।
उनका अनुसार अहिले वडामा चारवटा योजनामा यो अभियान शुरू भइसकेको छ । एउटा योजना तयारीको चरणमा छ । हिमाली टोल सडक पिसिसिमा रु.८ लाख ५५ हजार, ९०६ को लगानीमा रु.१ लाख ८७ हजार ६०६ स्थानीय उपभोक्ताको लगानी रहने भएको छ ।
८०/२० को अभियान अन्तरगत नै ड्रिम्ल्याड स्कुल सडक पिसिसिमा लाग्ने रु.१२ लाख ७६ हजार ७५२ मा उपभोक्ताले रु.२ लाख ६६ हजार ७०० लगानी गर्ने भएका छन् । यसैगरी पशुपति स्कुल सडकमा लाग्ने रु.८ लाख ५२ हजार ७७२ मा रु.१ लाख ७३ हजार ७७२ उपभोक्ताले लगानी गर्ने वडाध्यक्ष कार्कीले बताए ।
उनका अनुसार आदर्श मावि सडकमा नयाँ बस्ती व्यवस्थापनका लागि १५ लाख विनियोजन भएकोमा २० प्रतिशत सो स्कुलले लगानी गर्ने भएको छ । उपमहानगरपालिकाका अन्य वडामा सञ्चालित आयोजनाहरुमा उपभोक्ताको लगानी छैन । ‘हामीले पहिलो पटक उपभोक्तालाई पनि विकासमा सहभागि गराउन यो अभियान सुरु गरेका हौं,’ वडाध्यक्ष कार्कीले भने ।
स्थानीयस्तरमा सञ्चालित आयोजनाहरुमा उपभोक्तालाई सहभागि गराउँदा आयोजनाप्रति उनीहरुको अपनत्व बढ्ने विश्वास गरिएको छ । ‘आयोजनामा उपभोक्तालाई नै सहभागि गराउँदा स्थानीय उपभोक्ताहरुको अपनत्व बढ्नुका साथै योजना पनि दिर्घकालिन बन्ने विश्वास गरेका छौं,’ वडाध्यक्ष कार्कीले भने ।
यसैबीच वडा नं. २० ले वडामा रहेका जेष्ठ नगारिक लागयतका मापदण्डमा परेका व्यक्तिलाई मंसिर ५ गतेदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । पहिले बागेश्वरी बैंकबाट प्रात गर्न सकिने उक्त भत्ता अबदेखि देव विकास बैंकबाट प्राप्त हुने वडाध्यक्ष कार्कीले जानकारी दिए । यस वडामा १ हजार २०० व्यक्तिले सामाजिक सुरक्षा भक्ता पाउँदै आएका छन् ।
।