सूचनाको शक्ति - The Power Of Information

        

पूर्व उपसभामुख सुवेदीले छोरी सरह बुहारीलाई अन्माएपछि…

बाँके । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधान सभाका पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदी चन्द्रकान्ताले जेठी बुहारी मालती शर्मालाई छोरीको रुपमा विवाह गरी अन्माएर पठाएकी छन् ।
बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको ईच्छा अनुसार विवाह गरी अन्माएकी हुन् । २०७२ सालको महाभूकम्पमा परि उनका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी मालती शर्माको आज शनिबार आफ्नै घरबाट नेपालगन्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएएकी हुन् ।
‘मालतीको ईच्छा र उनले नै खोजेको नयाँ जीवन साथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको सुरुवात गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुसीमा सहभागी भएका हौ,’ पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी भनिन् । उनले अब विवाह गर्छु भनेपछि हिन्दू संस्कार, संस्कृति, दर्शन, राजनीति र माक्र्सवादी शिक्षा अनुसार नै विवा गरिदिएको बताइन् ।
उनले भनिन्, ‘बाबुपछि उनी कसरी खुसी हुन्छिन् त्यसरी नै खुसी बनाउने सल्लाह भए अनुसार घरबाटै बुहारीभन्दा पनि छोरी नै बनाएर अन्माएका हौ ।’ उनले छोराको अवसानपछि दुई नाती र बुहारी मालतीको भविष्यप्रति आफुहरु चिन्तित रहेकै बेलामा मालती आफैले छानेको बरका साथ उनलाई खुसी देख्नको लागि विवाह गरि दिएको बताइन् । मालतीका यसअघि दुई छोरा छन् ।
समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माई पठाउनु सुवेदी दाम्पत्तीका लागि केही असहज भए पनि समाजलाई सच्चिकै परिवर्तन गर्नको लागि उदाहरण भएको नेकपाकी नेतृ तथा पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले बताइन् ।
उनले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिक कर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भनिन्, ‘बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुबै जनाबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।’

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १९:०१