सूचनाको शक्ति - The Power Of Information

        

नायिका निरुता सिंह भन्छिन्, ‘यो संसारबाट बिदा लिइरहँदा पनि मेरो अगाडि क्यामेरा होस्’

काठमाडौं । ‘नाई नभन्नु ल ५’ को सुटिङका क्रममा दिलिप रायमाझीले पछाडिबाट आएर आफ्ना दुई हातले निरुता सिंहको आँखा छोपिदिए । उनले ऐनाबाट दिलीप आइरहेको पहिल्यै देखेकी थिइन् । त्यसैले उनको मुटुको चाल बढ्न थाल्यो । खुसीले यति गद्गद् भइन् कि मन भक्कानिएर आयो ।
जब दिलीपले आफ्नो हात निकाले तब निरुताको गहभरी आँसु थियो खुसीको । कुनै जमाना निरुता र दिलीपको जोडी नेपाली फिल्मी क्षेत्रमा निकै जमेको थियो । नेपाली दर्शकका लागि उनीहरु सुपरस्टार थिए । जुन फिल्म खेलेपनि चल्ने । अभिनयमा उत्तिकै मीठास । २०५० को दशकमा बाँधिएको यो जोडी लामो समय नेपाली फिल्मी क्षेत्रमा रहेन ।
दिलीप अमेरिका हानिए भने निरुता भारत । उनै दिलीपसँग पुनः सुटिङस्थलमा भेट हुँदा निरुताले खुसीका आँसु बहाइन् । त्यो लोकप्रियता, दर्शकको त्यो निश्चल प्रेमले अझै पनि बेलाबेला उनलाई घचघच्याइरहन्छ । भारतमा रहँदा निरुताको नेपाली फिल्ममा फर्कने इच्छा कहिल्यै मरेन । किनकी फिल्म उनको जीवन हो । जीवन उनका लागि नेपाली माटो । अनि नेपाली माटो, दर्शक उनका लागि भगवान ।
जसले उनलाई निरुता सिंहबाट स्टार निरुता सिंह बनाइदियो । त्यसैले आज फेरि फर्किएर आइन् उही माटो, उनै दर्शक सम्झिएर । त्यसो त ‘नाई नभन्नु ल ५’ मार्फत पाँच वर्षपछि निरुताको नेपाली फिल्मी क्षेत्रमा पुनः आगमन भयो । तर, यसमा उनको रोल संकुचित छ । त्यसैले यसलाई उनी ‘कास्टिङ’ भन्न रुचाउँछिन् । ‘त्यस फिल्ममा मैले अतिथिको भूमिका निभाएकी हुँ, त्यसैले त्यो कास्टिङमात्र थियो, कमब्याक फिल्म नै भन्न नमिल्ला’ उनले भनिन् ।
०००
भारतको प्रडक्सन हाउसमा निरुताले त्यत्तिकै काम पाएकी होइनन् । उनकै भाषामा भन्ने हो भने नेपाली सुपरस्टार भनेर उनीहरुले निरुतालाई राखेका हुन् । त्यसैले त उनलाई लाग्छ, भारतमा बसेर पनि उनी नेपाली फिल्मलाई ‘रिप्रिजेन्ट’ गरिरहेकी थिइन् । भारतमा रहँदा निरुतालाई नेपाली फिल्ममा अफर नआएका होइनन् । बीचमा केही फिल्म उनले खेलिन् पनि र खासै चलेनन् पनि ।
त्यसैले उनले आफूलाई चित्त बुझ्ने र अभिनयलाई न्याय गर्न सक्ने फिल्मको अफर आएमात्र स्वीकार्ने प्रण कसिन् । निरुता भन्छिन्, ‘मैले हालसम्म थुप्रै रोलहरु गरेँ । त्यसभन्दा केही भिन्न होस् भन्ने चाहन्थेँ । त्यसैले उचित समयको पर्खाइमा थिएँ र अहिले त्यो समय आएको छ ।’ यससँगै ४५ वर्षीया निरुताको नेपाली फिल्ममा ‘सेकेन्ड इनिङ’ सुरु भएको छ । अब उनी बीचमै हराउने पक्षमा छैनन् । राम्रा अफरहरुलाई स्वीकार्ने्छिन् । किनकी उनका लागि फिल्म प्यासन हो । र, त्यो प्यासन अभिनयलेमात्र पूरा गर्न सक्छ ।
‘म बुझ्ने भएदेखि नै जानेको काम भनेको यही हो, त्यसैले म फिल्मभन्दा टाढा रहन सक्दिनँ’, उनी भन्छिन् । निरुता चाहन्छिन्, जब उनी यो संसारबाट विदा लिइरहेकी हुनेछिन् त्यतिबेला पनि उनको अगाडि क्यामेरा होस् । यो फिल्मप्रतिको उनको लगाव हो । त्यसैले उनलाई आफू कुनैबेला नेपाली फिल्म जगतको सुपरस्टार थिएँ भन्ने कत्तिपनि घमन्ड छैन । सायद उनको मुख्य विशेषता यही हो । ‘जीवन नै सिकाइको एउटा प्रक्रिया हो’, निरुता भन्छिन्, ‘हरेकपटक फिल्म गर्दा मैले नयाँ–नयाँ कुरा सिकिरहेकी छु र मलाई अझै धेरै सिक्नु छ ।’
०००
दर्शक तथा फ्यानले निरुतालाई फेसबुक, इन्टाग्राममार्फत म्यासेज गरेर फिल्ममा फर्कन आग्रह गरिरहन्थे । उनी पनि दर्शकको उस्तै माया देखेर मख्ख पर्थिन् । दर्शकको सोही मायाका कारण नाई नभन्नु ल ५ मा अभिनय गरिन् पनि । सबैले खुसी व्यक्त गरे । त्यसैले उनी अब दर्शकलाई निराश पार्न चाहन्नन् । ‘त्यसका लागि मैले आफ्नो अभिनयमा पनि बेस्ट दिने प्रयास गर्नेछु’ उनी भन्छिन् ।
दक्षिणा फिल्ममा देखेपछि निरुतालाई दर्शकले ‘सपना भएर आँखामा आउने केटी’ भन्थे । पहिलो फिल्मबाटै उनी धेरैको मन, मस्तिष्कमा बस्न सफल भइन् । उनी हाँस्दा दर्शकहरु पनि सँगै हाँसे, उनी रुँदा रोइदिए । सबैले निरुतालाई आफ्नो घरको छोरी, बुहारी, चेली सम्झे । अब पनि निरुता दर्शकको त्यही माया चाहन्छिन् । त्यही साथ, त्यही सहयोग ।
र, मुस्कुराउँदै भन्छिन्, ‘म पनि दर्शकलाई निराश पार्ने छैन ।’ फिल्म खेलेर कसैले धेरै पैसा कमाए होलान्, कसैले थोरै । तर, निरुताले दर्शकको धेरै माया कमाएकी छन् । भारतसहित विश्वका जुनसुकै कुनामा जाँदा निरुतालाई चिन्ने, माया गर्ने नेपाली उत्तिकै छन् । उनलाई देख्नासाथ फोटो खिच्न आउनेको भीड नै लाग्ने गर्छ । उनले यही मायालाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ ठानेकी छन् । र, यसमै गर्व गर्छिन् ।
०००
निरुता नेपाली फिल्ममा प्रवेश गर्दाको समय र अहिलेमा आकाश–जमिनको फरक छ । उतिबेला क्यामेरा म्यानले क्यामेराको लेन्सबाट हेरेको भरमा सुटिङ हुन्थ्यो । डाइरेक्टरले मनिटरमा हेर्न कहाँ पाउनु । अहिले नेपाली फिल्ममा पनि विज्ञान, प्रविधिको भरपुर प्रयोग हुने गरेकोप्रति उनी खुसी छन् । फिल्मको स्तर हेर्दा दंग पर्छिन् । गीतहरुमा प्रयोग भएका सिनहरु र एनिमेसनले उनलाई तान्छ । समग्रमा यसलाई उनी नेपाली फिल्मको विकास भन्न रुचाउँछिन् । तर, निरुतालाई अहिले नेपाली फिल्म क्षेत्रमा देखिएको एउटा कुरा पटक्कै मन पर्दैन ।
त्यो हो –अस्वस्थ प्रतिस्पर्धा । भन्छिन्, ‘उतिबेला स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो । फलानोलेभन्दा मैले कसरी राम्रो गर्ने भन्ने हुन्थ्यो तर, अरुलाई नराम्रो देखाएर, तल गिराएर, निचो देखाएर कहिल्यै प्रतिस्पर्धा हुँदैनथ्यो ।’ उनलाई अहिले पनि आफ्ना समकालिनहरु उत्तिकै प्यारा लाग्छन् । जल शाह, विपना थापा, झरना थापा र दिलीप रायमाझीलाई उनी खुबै मीस गर्छिन् । भावुक हुँदै निरुता भन्छिन्, ‘उसको बुबा बित्नुभएको समयमा जलसँग भाइबरमा कुरा भएको थियो । दुवैजना निकैबेर रोयौँ । हाम्रो आँसु नै थामिएन ।’
०००
निरुतालाई सुटिङका हरेक दिन आफ्नो पहिलो दिन होजस्तो लाग्छ । उनमा २५ वर्षअघि अभिनय गर्दाको जुन उत्सुकता थियो त्यो आज पनि उही छ । त्यसैले उनी सधै काममा ११० प्रतिशत दिनुपर्छ भन्ने मान्यता राख्छिन् । दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे, आमाको काखलगायतका दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले अब आफ्नो ‘सकेन्ड इनिङ’ मा ‘दाल भात तरकारी’ मार्फत त्यही माया कमाउन सक्लिन् त ? समयले अवश्य बताउनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार १७:१७