सूचनाको शक्ति - The Power Of Information

        

‘नो हर्न’ घोषणा हुँदै नेपालगन्ज उपमहानगर

बाँके । भोली अर्थात् मङ्सिर १ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा हुँदैछ । प्रदेश नं ५ लाई नो हर्न बनाउने अभियान अन्तरगत बाँकेमा पनि नो हर्न घोषणा गर्न थालिएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अभियान लागु गरिनेछ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र रोकायका अनुसार सवारी साधनमा हर्न बजाउन पाउने छैनन् । ‘ध्वनि प्रदूषण नियन्त्रण हामीले यो अभियान सुरु गरेका हौं, रोकायले भने, ‘नेपालगन्जलाई ध्वनिमुक्त शहरका बनाउन अभियान सुरु भएको हो, यसमा सबैको साथ चाहिन्छ ।’
अभियान सफल पार्न एक महिनासम्म व्यापक प्रचारप्रसार गरिने प्रहरी निरीक्षक रोकायले जानकारी दिए । उनका अनुसार अभियान सफल बनाउन यातायात व्यवसायी, उद्योगी तथा चालकहरू सबैको सहयोग चाहिन्छ । ‘अभियानमा सबैले साथ दिनुस् ।’
बढ्दो ध्वनि प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै उपमहानगरभित्र हर्न निषेध गर्न थालिएको हो । पछिल्लो समय नेपालगन्जमा ध्वनि प्रदूषण बढ्दै गएको छ । बढ्दो सवारी साधनको चाप र धार्मिक स्थलमा बज्ने उच्च ध्वनिका कारण अभियान सुरु गर्नुपरेको उनले बताए ।
अभियान सफल पार्न नेपालगन्ज उपमहानगर, नेपालगन्ज उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । ‘बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिँदैन,’ उनले भने, ‘त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गर्न थालेका हौं ।’
अभियान सफल पार्न उपमहानगरका विभिन्न स्थानमा जानकारीका लागि बोर्डहरू राख्ने कार्य भइरहेको रोकायले बताए । विषेशज्ञका अनुसार शहरी भागमा सवारी साधनले सय डेसिबलसम्मको ध्वनि प्रदूषण गरिरहेको छ, तर, मानिसले ६० डेसिबलसम्मको ध्वनि मात्र सुन्न सक्छन् ।
८० डेसिबलसम्मको ध्वनिले मानिसको ज्यानसमेत जानसक्ने विषेशज्ञ बताउँछन् । नेपालमा ध्वनि प्रदूषणका कारण १४ प्रतिशत मानिस बहिरोपनको समस्याबाट ग्रसित रहेको एक अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १३:४१