सूचनाको शक्ति - The Power Of Information

        

छमछमीको अडिसन पहिलो पटक बुटवलमा हुँदै

बुटवल । नेपाल टेलिभिजनको रियालिटी शो छमछमी मेगा डान्स कम्पिटिसनको चौथो संस्करण अन्तरगत बुटवल अडिसन आगामी मंसिर १ र २ गते हुने भएको छ । संस्करणको पश्चिम नेपालमै पहिलो पटक बुटवलमा हुन गैरहेको सो मेगा डान्सको अडिसनमा झण्डै दुई सय जना नृत्यकर्मीहरुको सहभागिता रहने अपेक्षा गरिएको आयोजक टिमले जनाएको छ ।
देशभरका नृत्यकर्मीहरुका लागि सुनौलो अवसर लिएर पश्चिम नेपालमा प्रवेश गरेको छमछमी चौथो संस्करणको कार्यक्रम उत्पादन टिमले बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कार्यक्रममा कार्यकारी निर्माता निता सापकोटाले नेपाल टेलिभिजनले छमछमी जस्ता कार्यक्रमको उत्पादन गर्ने र नृत्य प्रतिभाहरुलाई ब्यवसायिक बन्न प्रोत्साहित गर्ने उद्देश्य रहेको बताइन् । कार्यक्रममा नेपाल टेलिभिजनका प्रमुख क्यामेरामेन उत्तम सिलवाल, बरिष्ठ क्यामेरामेन पुरुषोत्तम घिमिरे, कार्यकारी ईन्जिनियर हरि भण्डारी, राससका प्रदेश प्रमुख भरत केसी, बरिष्ठ गायिका देविका बन्दना, नेपाल टेलिभिजनका स्थानीय सम्बाददाता हरिश ढकाल लगाएतले कार्यक्रमको उद्देश्य, लक्ष र यसबाट पर्ने प्रभाव तथा प्रवाह हुने सन्देशका बारेमा चर्चा गरेका थिए ।
देशका बिभिन्न १२ स्थानमा हुने सो प्रतियोगिताको फाईनलमा बिजेताले मारुती सुजुकी कम्पनीको अल्टो कार पुरस्कारबापत प्राप्त गर्ने र लाखौं रुपैयाँको उपहारसमेत हात पार्नेछन् । साथै उपबिजेता प्रथम र द्धितियले क्रमशः ५ लाख र ३ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ठ १० भित्रका बाँकी ७ जनाले पनि जनही १ लाख बराबरको पुरस्कार प्राप्त गर्ने आयोजक टिमले जनाएको छ । कार्यक्रम संचालन गर्न करोडौं रकम खर्च हुने र एउटा अडिसनमा मात्र पनि लाखौं खर्च हुने भए पनि उक्त कार्यक्रममा सहभागि हुनका लागि २ सय रुपैयाँ मात्र फारम शुल्क लिने गरिएको नेपाल टेलिभिजनले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०८:२९