सूचनाको शक्ति - The Power Of Information

        

पूर्वाधार विकासमा श्रोतको आवश्यकता : मुख्यमन्त्री

रेनुका गिरी । बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि अमेरिकी राजदुत रयाण्डी डब्लु बेरीबीच बिहिबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ ।
मुख्यमन्त्रीले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराए । भेटमा मुख्यमन्त्रीले प्रदेश पाँच मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशको विशेषताहरुबारे बताए ।
भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले २५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
अमेरिकाले ३० वर्षअघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पुर्याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताए ।
राजदुत बेरीले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने उनले बताए ।
त्यसैगरी मुख्यमन्त्री पोखरेललाई बेलायती सहयोग नियोग डिएफआइडी अन्तरगत रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गरेका छन् । भेटमा रोजगार श्रृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसंग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।
चार वर्षे यो कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार अर्थमन्त्रालयसंग सम्झौता भइरहेको छ । त्यस अनुरुप यस प्रदेशमा प्रदेशको आवश्यकता, सम्भावना र क्षमताका अधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्ने बारेमा प्रारम्भिक छलफल भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०८:१२