बाँके । नेपालगन्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको अत्याधुनिक ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करिब ७५ प्रतिशत काम सकिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ नेपालगन्जले जनाएको छ ।
आयोजनाअन्तर्गत ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि करिब एक वर्ष ढिलाइ भएको थियो । त्यसयता काम सुरु भए पनि २०१८ अप्रिलदेखि मात्र निर्माणकार्यले गति लिएको थियो ।
आयोजना अन्तरगत स्वतन्त्र परामर्शदाता प्रकाशराज शिवाकोटीका अनुसार केही दिनभित्र निर्माणको सबै काम सक्ने गरी काम भइरहेको छ । फोहर तौलने मेसिनरी राख्ने स्थान, चारवटा सम्बोइल, विद्युतीकरण लगायत गिट्टी भर्ने काम बाँकी रहेको बताए ।
‘यी काम डिसेम्बर ३१ भित्र जसरी पनि सक्नुपर्छ,’ उनले भने, ‘अन्यथा एडीबीले भुक्तानी दिँदैन ।’ मुख्य पूर्वाधार निर्माणका काम सकिएकोले हाल फोहर भण्डारण गर्ने चारवटा सेलमा गिट्टी भर्ने काम भइरहेको र मेसिनरी सामान आपूर्ति गर्नुपर्ने काम बाँकी रहेको उहाँले जानकारी दिए ।
निर्माणको जिम्मा पाएको रम्की एन्ड एनएएनसी जेभी काठमाडौंले अबको दुई महिनाभित्र सक्ने गरी तीव्र गतिमा काम गरिरहेको जनाएको छ । निर्माण कार्य दु्रतगतिमा भए पनि सानातिना काम बाँकी रहेकाले कामको ओभरलोड भएको निर्माण कम्पनीको भनाइ छ ।
‘चारैवटा सेलमा पाइप बिच्छ्यएर बालुवा भर्ने काम सकिएको छ,’ उनले भने, ‘अब गिट्टी भर्ने काम सकिएपछि बाँकी सानातिना काम मात्र रहन्छन् ।’ ०७३ भदौ २८ गते सुरु भएको आयोजना २०७४ माघ २९ गते सम्पन्न हुने सम्झौता भएको थियो ।
समयमै काम पूरा नहुने भएपछि पुनः पुस १६ गतेसम्मका लागि म्याद थपिएकोमा सम्झौता अवधि सकिन डेढ महिना बाँकी छ । ल्याण्डफिल्ड साइट निर्माण कार्य पूरा भएपछि १ वर्षसम्म फोहर संकलन गरेर परीक्षणको रूपमा सञ्चालन गरी नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
नेपालगन्जमा दैनिक ३५ देखि ३८ टन फोहर जम्मा हुने गरेको छ, त्यसमध्ये हाल दैनिक ३० टन फोहर संकलन हुँदै आएको छ । ल्याण्डफिल्ड साइटमा दैनिक २४ टन फोहर भण्डारण हुनेछ भने बाँकी फोहर व्यवस्थापनको उपाय खोजिने भएको छ । फोहर विर्सजन गर्ने स्थान नहुँदा हाल उपमहानगरपालिकाले जहाँ खाली ठाँउ पायो त्यहीं फाल्दा प्रदूषण हुने गरेको छ ।
एसियाली विकास बैंकको ऋण अनुदान ८० प्रतिशत, सहरी विकास कोषको ऋण १५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत म्याचिङ फन्ड गरी कुल रु.३३ करोड ८८ लाख २७ हजारको लागतमा निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको थियो । पछि थप संरचना निर्माणका लागि पुनरावलोकन गरी भ्याटसहित ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सम्पन्न गरिने भएको हो । यो सुरुको लागतको १४.८९ बढी हो ।
निर्माण सुरु भएयता निर्माण कम्पनीले भ्याटसहित रु.४६ प्रतिशत अर्थात् १५ करोड ७९ लाख भुक्तानी लिइसकेको छ । यो ल्याण्डफिल्ड साइट सञ्चालनमा आए यहाँको फोहर मैला व्यवस्थापन गर्न निकै सहज हुने नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।
उनका अनुसार हाल फोहर मैला व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । फोहरको वर्गीकरण गरी गल्ने फोहरलाई मलको रूपमा उत्पादन गरी बिक्री वितरण गरेर आयआर्जन गरिने र नगल्ने फोहरलाई पुनःप्रयोग गरी अन्तिममा ल्यान्डफिट साइटमा विर्सजन गरिने हुँदा वातावरण स्वच्छता राख्न मद्दत पुग्ने उनी बताउँछन् । वातावरणीय स्वच्छताका लागि ल्याण्डफिल्ड साइटको वरिपरि बोटबिरुवा लगाउने कार्यसमेत भइरहेको छ ।
।