सूचनाको शक्ति - The Power Of Information

        

विमानभित्रै एयर होस्टेसले बच्चालाई दुध चुसाएपछि…

विमानमा यात्राको क्रममा रोइरहेका नवजात शिशुलाई आफ्नो दुध खुवाउने एयर होस्टेसको सोसल मिडियामा निकै तारिफ भइरहेको छ । यात्राको बीचमा नै बच्चाको आमासँग भएको पाउडर दुध सिद्धिएको र बच्चा भोकले रोइरहेको देखेर २४ वर्षीया पत्रिशा ओर्गानो मद्दतका लागि अघि बढिन् ।
उनले भोकाएको बच्चालाई आफ्नो दुध पिलाइन् । पत्रिशाले यो घटना फेसबुकमा पनि सेयर गरिन् । उनलाई मानिसहरुले ‘हिरो’ बताएका छन् । पत्रिशाको पोष्टलाई अहिलेसम्म ३५ हजारभन्दा बढि पटक सेयर गरिसकिएको छ । उक्त पोष्टमा उनले बताएकी छिन्, ‘उडान भर्नु अघिसम्म सबैकुरा ठिक थियो ।
तर यात्राको बीचमा नै बच्चा बेस्सरी रुन सुरु गर्यो, त्यसपछि मैले आमालाई दुध पिलाउन आग्रह गरे । तर बच्चाकी आमाले आफूसँग भएको पाउडर दुध सिद्धिएको बताइन् ।’ मनिलाकी पत्रिशा आफै पनि जेद नामकी नौ महिने छोरीकी आमा हुन् ।
उनले भनिन्, ‘एयरलाइन्ससँग पनि बच्चालाई दुध दिलाउने कुनै व्यवस्था थिएन । वरिपरि बसेका यात्री बच्चा रोएपछि तनावमा देखिए । त्यो देखेर म निकै दुःखी भएँ । त्यसपछि मैले विमानका अधिकारी शेरिलको मद्दतले बच्चालाई फिडिङ एरियामा लगेर दुध खुवाएँ ।’

एयरलाइन्सले दियो प्रोमोशन
नवजातलाई दुध खुवाएपछि उनकी आमाले आफूलाई धन्यवाद दिएको पत्रिशाले बताइन् । बच्चाकी आमा अघिल्लो रात ९ बजेदेखि एयरपोर्टमा थिइन् । ‘बच्चाले मेरो दुध चुसिरहेका बेला मैले उनकी आमाको आँखामा एक प्रकारको सुकुन देखेँ र अन्ततः उनकी छोरी निदाइन् ।’
बच्चाको आमालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको पत्रिशाले बताइन् । उनी भन्छिन्, ‘रोइरहेको बच्चालाई एउटी आमाले सहयोग गर्न नसक्दा कस्तो महसुस हुन्छ त्यो मैले राम्रोसँग बुझेकी छु । भोकाएको बच्चालाई दुध चुसाउन नसक्दाको त्यो भयानक अनुभव गर्न सक्छु त्यसकारण मैले बालिकालाई दुध पिलाउन अघि बढें ।’
जब यो घटना भयो तब पत्रिशा इभ्यालुएटर पदका लागि परीक्षा दिइरहेकी थिइन् । एयरलाइन्सले उनलाई उडानपछि उक्त पदका लागि छनोट गर्यो । यद्यपी, पत्रिशाले उक्त उडान प्रोमोशनका लागि नभई एक अपरिचित यात्रीको बच्चालाई दुध पिलाउन पाउँदाका विशेष भएको जानकारी दिइन् ।

 

 

#डेली मेल

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार ०६:२४