सूचनाको शक्ति - The Power Of Information

        

सडक कालोपत्रे गर्न ४ करोड खर्च गरिने

बाँके । बाँकेको कोहलपुर क्षेत्रका चार वटा सडकको स्तरउन्नती गर्नका लागि चार करोड बजेट खर्च गरिने भएको छ । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत उक्त बजेट यहाँका चारवटा सडक कालोपत्रे गर्ने काममा खर्च गरिने भएको हो ।
बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको संयोजकत्वमा सोमबार बसेको बैठकले साझेदारी कार्यक्रम अन्तरगत छुट्याईएको ४ करोड बजेट सडक निर्माणमा खर्चिने निर्णय गरेको हो । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत संसदीय बिकास कोषको ४ करोड र समुदायको ६ करोड ८५ लाख बजेट सडक कालोपत्रेमा खर्च गर्ने निर्णय भएको संघीय साँसद नन्दलाल रोकायाले जानकारी दिए ।
उक्त योजना अनुसार बाँके क्षेत्र नं. ३ को बैजनाथ–५ जि गाँउदेखि एचगाँउसम्म सडक कालोपत्रेका लागि एक करोड २५ लाख, खजुरा गाँउपालिका–२ को वावास्थानदेखि लर्डबुद्ध बिद्या निकेतनसम्मको सडक कालोपत्रेका लागि ३ करोड २५ लाख रककम विनियोजन गरिएको छ । यसैगरी, खजुरा गाँउपालिका–४ डिगाँउ १ देखि ई गाँँउ स्कुलको पल्लो चोकसम्म सडक कालोपत्रेका लागी ३ करोड र जानकी गाँउपालिका पिप्रहवा चोकदेखि गाँउपालिकासम्म जाने सडक कालोपत्रेका लागि ३ करोड ३५ लाख बजेट छुट्याइएको उनले बताए ।
जिल्ला समन्वय समिति बाँकेमा प्रदेश सांसद बाबुराम गौतम, आईपी पोखरेल, गाँउपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, मानबहादुर रुचाल, रामनिवास यादब र जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव संलग्न बैठकले संसदिय बिकास कोषको ४ करोड बजेट सडक कालोपत्रेका लागि छुट्याउने निर्णय गरेको हो । संसदीय बिकास कोषको ४ करोड र स्थानीय समुदायको ६ करोड ८५ लाख बजेटबाट ३ नं. क्षेत्रका ४ स्थानमा एकैसाथ सडक कालोपत्रे योजना संचालन गरिए त्यसबाट ४५ हजार स्थानीयहरु लाभाम्वित हुने छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १२:१९