सूचनाको शक्ति - The Power Of Information

        

मेलमिलापकर्तालाई ७२ घण्टे प्रशिक्षण दिँदै गाउँपालिका

बाँके । खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका मेलमिलापकर्तालाई ७२ घण्टाको लामो अवधीको आधारभूत प्रशिक्षण राखिएको छ । न्यायिक समितिलाई सहयोग पुग्ने गरी गाउँगाउँमा मेलमिलाप तथा विवाद समाधान कर्ताहरु छनौट गरेर खजुरा गाउँपालिका ८ वडाबाट २७ जना मेलमिलापकर्तालाई प्रशिक्षण दिन लागिएको हो ।
अधिवक्ता भानुभक्त रिजाल र राधेश्याम थारुले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । फौजदारी मुद्दाबाहेक अन्य मुद्दाहरु गाउँमै समाधान गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुरुप नै मेलमिलापकर्तालाई प्रशिक्षण दिन लागेको न्यायिक समिति संयोजकसमेत रहेकी खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बताइन् ।
तालिममा सहभागीले दैनिक ९ घण्टा अनिवार्यरुपमा तालिम लिनुपर्ने र उनीहरुलाई विवाद समाधानका लागि अवलम्बन गर्नुपर्ने सबै किसिमको प्रक्रिया सिकाइने उपाध्यक्ष विकले जानकारी दिइन् । प्रशिक्षणपछि परिवर्तन आउने विश्वास व्यक्त गर्दै उनले मेलमिलाप केन्द्र स्थापना गरेर उनीहरुमार्फत विवाद समाधान गरिने बताइन् ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधान गर्ने विश्वास व्यक्त गरे ।
मेलमिलापकर्ताले विभिन्न ११ प्रकारका विवाद समाधान गर्ने संवैधानिक अधिकार रहेको जानकारी दिँदै फौजदारी प्रकृतिका मुद्दा मात्र अदालत जाने किसिमले काम अगाडि बढाइने बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले भने, ‘सुक्ष्म तरिकाबाट विवाद समाधानका लागि प्रशिक्षण सहयोगी सिद्ध हुने विश्वास गरेका छौं ।’

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार १३:५२