सूचनाको शक्ति - The Power Of Information

        

‘लालटिनको उज्यालोमा’ परिचर्चा, ‘महिला आन्दोलनलाई प्रेरणा’

रेनुका गिरी । बुटवल । सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’बारे प्रदेश ५ को राजधानी बुटवलमा परिचर्चा गरिएको छ । स्रष्टाहरूले सम्भावना र क्षमता भएर पनि सामान्य गृहिणी महिलाको आत्मकथा बनेको ‘लालटिनको उज्यालोमा’आम नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेको बताएका छन् । साहित्यकार तथा सह–प्राध्यापक ऋषिराम भुषाल, साहित्यकार गिरी श्रीस मगर र मीनाक्षी न्यौपानेले ज्ञवालीको आत्मकथामा परिचर्चा गरेका थिए ।
प्राध्यापक भुषालले महिला मुक्तिको अधिकार खोजिरहेकी एक निष्ठावान् राजनीतिक कार्यकर्ता अन्त्यमा गृहिणी बनेर बस्न बाध्य हुँदाको पीडा र साहास ज्ञवालीले देखाएको बताए । उनले एक सफल राजनीतिज्ञका पछाडि उनकी श्रीमतीको त्याग र बलिदानी ज्ञवालीको आत्मकथामा सशक्तरूपमा प्रस्तुत भएको बताए । उनले पुस्तकभित्र सबै सत्य घटनाहरूलाई शैलीबद्ध ढंगले लिपिबद्ध गरिएकाले पाठकका लागि पुस्तक उत्कृष्ट रहेको टिप्पणी गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले राजनीतिक उचाइँकाबीच श्रीमानका लागि राजनीतिक जीवन, जागिर र आफ्ना आकांक्षाहरूलाई बिर्सिएर लेखिकाले पुर्याएको योगदान महिला आन्दोलनका लागि मार्गदर्शन बन्ने बताए । उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य, लेखक सरस्वती ज्ञवाली, पत्रकार दिपक ज्ञवाली, साहित्यकार हिरण्य ज्ञवाली, डिबी गुरुङ्ग लगायतले पुस्तक ‘लालटिनको उज्यालोमा’ आम नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत बनेको बताए ।
‘लालटिनको उज्यालोमा’ महिला पुरुषको योगदान, अधिकार र दायित्व समान हुनुपर्छ भन्ने समविकासको सिद्धान्त अँगालेकी एक महिलाको कथा हो । घरमै बसेर अध्ययन गर्ने वातावरण समेत नपाएकी एउटी नारीले आफ्नो अध्ययनपछि शिक्षिका र राजनीतिकर्मीका रुपमा समाज परिवर्तनका लागि गरेको संघर्षका कथाहरुलाई यस पुस्तकमा समेटिएको छ । शिक्षा र चेतनाको अभाव रहेका नेपालका पश्चिम पहाडी विकट गाउँहरुमा महिलाको अवस्था र उनीहरुले आफ्नो शिक्षा तथा आधारभूत अधिकार प्राप्तिका लागि गर्नुपरेका संघर्षपूर्ण कठिन परिस्थितिहरुलाई पुस्तकमा उल्लेख गरिएको छ ।
पाल्पाको मदन पोखरामा जन्मिएकी लेखिका ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्रका नारीको अवस्था र आफैले त्यस समयमा भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थ भोगाइहरुलाई पुस्तकमा आत्मकथाका रुपमा उतारिएको छ । पञ्जायती शासनविरुद्धको आन्दोलनमा सक्रिय हुँदाको पीडा, जागिरका सिलसिलामा राजनीतिक खिचातानीका कारण आफुले भोगेको सास्ती, अपाङ्ग छोरी जन्मिदाको पीडा, उनको हेरचाह लगायतका अनुभव पुस्तकमा समावेश छन् । पुस्तकलाई एउटी महिलाको आत्मकथा मात्रै नभई तत्कालीन सामाजिक राजनीतिक परिवेशको दस्तावेज पनि मान्न सकिन्छ ।
पुस्तकमा लेखिका आफैँ राजनीतिमा होमिएको र निरन्तर राजनीतिमा सक्रिय श्रीमान् भएकाले पनि राजनीति र खासगरी कम्युनिस्ट राजनीतिको चरित्रलाई केही हदसम्म उतारेकी छन् । राजनीतिक क्रुर खेल हो भन्ने पुस्तकमा खुलाइएको छ । पुस्तकमा लेखिकाले छोरी, बुहारी, पत्नी, आमाका साथै समाजका अनेक भूमिकासँग एउटी महिला कसरी काम गर्न सक्छे भन्ने बारेमा बयान गरेकी छन् । एउटी महिलाले घर परिवारसँगै राजनीतिक कार्यकर्ताको उत्तरदायित्वको बहन गर्ने कार्य कसरी सम्भव हुनसक्छ भन्ने अनेक पाटोहरुको प्रस्तुती पनि यस पुस्तकमा समेटिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतवार ११:१८