सूचनाको शक्ति - The Power Of Information

        

संसारकै अतुलनीय क्षेत्र ‘भू–स्वर्ग’ खप्तड (फोटोफिचर)

खप्तड । दुई हजार सात सय मिटरदेखि तीन हजार सात सय मिटरसम्म उचाईमा अवस्थित खप्तड क्षेत्र संसारकै अतुलनीय क्षेत्र मध्येको एक हो । सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने खप्तड क्षेत्र ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरु मध्येको एक खप्तड पनि हो ।
जसमा सयौँ विदेशी तथा हजारौँ नेपाली पर्यटकहरुले पत्यक्ष अवलोकन गरी भू–स्वर्गको व्याख्या गरिसकेका छन् । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र ‘खेचरी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेकाले खप्तड क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किंवदन्ती रहेको छ ।
‘भू–स्वर्ग’ शब्द झट्ट सुन्दा स्वर्ग नै हो कि भनेर सबैको मनमा कौतुहलता जाग्छ । यो यथार्थ हो, धर्तीको सबैभन्दा आनन्द महशुस हुने ठाउँ नै खप्तड हो । प्रकृतिको अनुपम उपहार हो खप्तड । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रङ्गीविरङ्गी फूलले छपक्कै छोपेका मैदानहरु, अझ भनौं स्वर्गबाट नै एक टुक्रा खसेर आए जस्तो । हिउँदको बेला बाक्लो हिउँमा पहिलो पटक खुट्टा टेक्दा त धर्तीको स्वर्गमा पुगे झैं अनुभूति हुन्छ ।
२२ पाटन मैदान र ५२ वटा (थुम्का) झोतीहरु भनेर पनि चिनिने खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिङ्गी, गणेशस्थान, नागढुङ्गा, माइका थान, छिन्तेढुङ्गा, केदारढुङ्गा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, जेठी बहुरानी ढुङ्गा, भलाउने पाटन जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई विशिष्ट बनाएका छन् ।
यी क्षेत्र तथा स्थानहरुको आ–आफ्नै महत्व छ । जसले आम जनमानसलाई लोभ्याइ राख्छन् । यी सबै धार्मिस्थलहरु फरक फरक ठाउँमा छन् । एकठाउँबाट अर्को ठाउँ जान करिब १–२ देखि ४–५ घण्टासम्म समय लाग्ने गर्छ । किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का (झोती) बनेका हुन् । भन्ने बुझाइ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतवार १०:५५