महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याकाण्डमा संलग्न अपराधीको खोजी गरी तत्काल कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै आजदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन धर्ना दिइने भएको छ ।
निर्मलाका पिता यज्ञराज पन्तले भने, ‘न्याय नपाएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो । धर्ना कार्यक्रमको पनि सुनुवाई भएन भने अनशन बस्ने सोच बनाएका छौं ।’ उनका अनुसार आइतबारबाट सुरु हुने आन्दोलन कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुनेछ ।
आजको कार्यक्रमअनुसार बिहान महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी ११ बजे जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना बस्ने कार्यक्रम रहेको छ ।
निर्मलाका पिता यज्ञराजले तिहारअघि पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुलाई न्याय प्राप्त नभए धर्ना र अनशन जस्ता कार्यक्रममा सरिक हुने जनाएका थिए । आजको धर्नाको तयरीका बारेमा छलफल गर्न महेन्द्रनगरको खुलामञ्चमा स्थानीय महिला अधिकारकर्मी तथा परिवारका सदस्यहरुको भेला भएको थियो ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले पनि बाह्रखरीसँगको कुराकानीमा यतिलामो समय भइसक्दा पनि सरकारले न्याय दिने दिशामा केही पनि गर्न नसकेकोले बाध्य भएर धर्नामा उत्रनुपरेको जनाइन् । साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
।