सूचनाको शक्ति - The Power Of Information

        

कुकुरले ‘ओके’ नभनेसम्म चल्दैन संसद् र राष्ट्रपतिको सवारी !

काठमाडौं । झट्ट सुन्दा अझै पनि पत्यार लाग्दैन, ‘कुकुरले सुँघेरै अपराधि पत्ता लगाउँछ ।’ त्यतिमात्रै होइन, हत्यारा, बेपत्ता पारिएका दर्जनौं घटनामा प्रहरीले कुकुरकै सहयोग लिएको इतिहास छ । नेपालमा पनि अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको करिब ५० वर्ष पूरा हुन लागेको छ ।
२०२६ सलामा मलेसियामा तालिम गर्न गएका पाँच जना प्रहरीले साथमा ल्याएको जर्मन शेफर्ड जातका रिवल र होस्का नामका दुईवटा कुकुरबाट नै नेपालमा कुकुर सेवाको प्रारम्भ भएको थियो । त्यतिनै बेला नेपालमा खरिद गरिएका सोही जातको सागर र धौला नाम गरेका दुईवटा गरी चारवटा कुकुरद्वारा सेवाको शुभारम्भ भएको थियो ।
यो समयमा कुकुरले थुप्रै अपराधी पत्ता लगाउन सहयोग पुर्याएको छ भने सम्भावित घटनाका बारेमा सचेत पनि गराएको छ । अपराधीको पहिचान गर्न होस् या सम्भावित दुर्घटनाबाट बच्न प्रहरीका लागि कुकुर भरपर्दो अनुसन्धान ‘अस्त्र’ बनेको छ ।
त्यतिमात्रै होइन भीआईपी र भीभीआईपीको सुरक्षामा पनि कुकुर परिचालन गर्ने गरएको छ । नेपाल प्रहरीसँग अहिले ७८ वटा तालिमप्राप्त र केही तालिममै रहेका कुकुर छन् । अपराध अनुसन्धान र शान्ति सुरक्षामा कुकुरले पु¥याएको योगदान निकै महत्वपूर्ण रहेको वताउँछन प्रहरी निरीक्षक डा. रामचन्द्र सत्याल ।

कुकरका नामै रोचक : जोलीदेखि राजासम्म
नेपाल प्रहरीको केन्द्रीय तालिम स्कुलबाट कुकुरहरु पासआउट हुन्छन् । तालिम केन्द्रमै कतिपयको नामाकरण गरिन्छ भने कतिपय विदेशबाटै तालिम गरेर आउने भएकाले नाम उतै राखिएको हुन्छ । अहिले तालिम केन्द्रमा रहेका कुकुरको नाम जोली, राजा, रेस्क्यु, भुन्टी, लुना, ओपरा, काली साथी, लैला लगायत रहेको छ ।

यस्ता छन् प्रहरीसँग रहेका नेपाली कुकुर
नेपाल प्रहरीसँग अहिले ८ प्रजातीका कुकुर छन् । सबै कुकुरको अपराध अनुसन्धानमा छुट्टाछुट्टै विशेषता छ । ल्याफोडर जातको कुकरले प्रायःजसो विष्फोटक पदार्थको पहिचान गर्छ भने गेल्डेर रिट्युमरले लागु औषध लुकाएको स्थानको पहिचान गर्छ ।
यस्तै वेल्जीयम सेफर्डले गम्भीर हातहतियार तथा विष्फोटक पदार्थ, डच सेफर्डले हातहतियार विष्फोटक पदार्थको पहिचान, विगलले लागु औषधकै पहिचान, व्लड हाउन्डले ९६ घण्टासम्मको अपराधीको खोजी, प्रमाण संकलन गर्न सक्छ ।
यो नै अहिले नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको सबैभन्दा महंगो कुकुर हो । जसलाई ८ लाख नेपालीमा खरिद गरिएको हो । जर्मन सेफर्डले २४ घण्टाभित्रको अनुसन्धान गहिरोरुपमा गर्न सक्छ भने यसले ९६ घण्टासम्मको अनुसन्धान गर्न सक्छ । यस्तै ककर स्पाइनरले पनि लागु औषधको पत्ता लगाउने, अपराधीको पहिचान गर्छ ।

यसरी दिइन्छ कुकुरलाई तालिम
नेपाल प्रहरीले भारत, थाइल्यान्ड, अमेरिका, मलेसिया लगायतका मुलुकबाट कुकरको आयात गरेको छ भने कतिपय अवस्थामा नेपालबाटै पनि कुकुर व्यावसायीबाट बच्चा खरिद गरिने नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल ल्याएका कुकुर प्रायः ६ महिनाभित्रका खरिद गरिन्छ ।
जसलाई प्रहरीले नाम र तालिम आफैँ दिन्छ । कुकुरलाई ल्याइसकेपछि सक्षम गराउन प्रहरी जवानदेखि अन्य दर्जालाई दिइन्छ । नियमअनुसार एक कुकुरलाई २ जनाले हेर्ने भनिएपनि हाल एकजना मात्रै छन् । कुकुरलाई तालिम दिनेको आदेश मात्रै कुकुरले मान्छ ।
कुकुरलाई प्रत्येक बिहान खोरबाट निकालेपछि १ घण्टा शारिरिक व्यायाम गराउने प्रहरीले जानकारी गराएको छ । दैनिक लागुऔषध, हातहतियार लुकाएर खोज्न लगाइनुका साथै अपराधीको पहिचान पनि गर्न लगाइन्छ । बिहानको तालिमपछि कुकुरलाई १० बजे खाना खुवाइन्छ । त्यसपछि २ घण्टा आराम गर्न लगाएर साँझ तालिम दिइन्छ ।
साँझ तालिम दिइसकेपछि खाना खुवाएर खोरमा राखिन्छ । तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । यहाँसम्म कि प्रहरीका उच्च अधिकारी आउँदा स्यालुट गर्न आदेश दिए कुकुरले ‘जयनेपाल’ सम्म टक्र्याउने प्रहरी अधिकारी बताउँछन् ।

कुकुरको दैनिकभत्ता आइजीपीको भन्दा बढी !
कुकुरको दैनिकभत्ता ३२५ छ । जबकी प्रहरीमा सिपाहीदेखि आइजीपीसम्मको दैनिक राशनभत्ता भनेको १७५ रुपैयाँ मात्र हो । कुकुरलाई दिनको दुईपटक मात्रै खाना खुवाइन्छ । तालिम प्राप्त कुकुरलाई दैनिक डग फुड खुवाइन्छ । एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ ।

दैनिक ड्युटी कहाँ हुन्छ ?
प्रहरी निरीक्षक डा. रामचन्द्र सत्यालका अनुसार केन्द्रदेखि ७ वटै प्रदेशको वैठक सुरु हुनुअघि सबैभन्दा पहिले कुकुरले संसद् भवन परिसरको चेकजाँच गर्छ । राष्ट्रपतिको सवारी हुँदा पनि सवारी हुनुअघि पहिले कुकुरले बाटो ‘क्लियर’ गर्छ ।
सत्यालका अनुसार कुकुरले ‘ओके’ नभनेसम्म संसद वैठक सुरु हुनेदेखि राष्ट्रपतिको सवारीसम्म हुँदैन । सत्यालका अनुसार नेपाल प्रहरीको कुकुरले अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई सुरक्षा दिएको छ । दर्जनौँ हत्याकाण्डदेखि, लागुऔषध र हतियार बरामदमा पनि कुकुरको अनुसन्धान बलियो देखिएको छ ।

कुकुरले पत्ता लगाएका चर्चित अनुसन्धान
२०७२ मा आएको विनासकारी भुकम्पले पहिरोमा पुरिएका दर्जनौँलाई कुकुरले पत्ता लगाएको तालिम केन्द्रका प्रहरी अधिकारी बताउँछन् । २०७१ साल असोज १४ गते लमजुङको पिप्ले–४ ओडारेका एकै परिवारका चार जनाको हत्यारालाइ पनि नेपाल प्रहरीको कुकुरले पत्ता लगायो ।
२०७२ वैशाख १५ मा सल्यानको छाँयाक्षेत्र–९ रानागाउँका २३ वर्षे सीता खाँण, साढे दुई वर्षकी उनकी छोरी पवित्रा र ११ महिनाकी सबिता र सीताकी बहिनी गीता घरभित्रै मृत अवस्थामा फेला परेको घटनामा पनि नेपाल प्रहरीको कुकुरले हत्याराको पहिचान गरेको थियो । बाराका पत्रकार वीरेन्द्र साह २०६४ असोज १८ गते अपहरणमा परेका थिए ।
नेपाल प्रहरीको ‘ब्याकी’ नामक कुकुरले भैवानाका जंगलमा साहको शव गाडिएको अवस्थामा कात्तिक २२ गते पत्ता लगाएको थियो । २०७० साल माघ १० मा रसुवाको ब्राप्चेको पहिरोमा हराएका सिभिल इन्जिनियर चेरव घिमिरेलाई रेस्क्यु र खुस्बु नामक कुकुरले पत्ता लगाएका थिए । २०५३ मा काठमाडौंको बुढानिलकण्ठमा आफ्नै देवरको छोरी ज्वाईले ६० वर्षे सासुको हत्या गरे । त्यो घटनाका अपराधीलाई कुकुरले सुँघेर पत्ता लगायो ।
२०६८ माघ २५ गते भक्तपुरका २१ वर्षे राजकुमार टमठूको कंकाल ललितपुरको ढल्केश्वरमा गाडिएके अवस्थामा कुकुरले नै पत्ता लगाएको थियो । २०४० सालमा दोलखामा शोभा श्रेष्ठले आफ्नै काका र बहिनीको हत्या गरे । त्यो घटनाको हत्यारा पनि नानी नामको कुकुरले पत्ता लगायो । नेपाल प्रहरीका कुकुरले दर्जनौँ हत्याकाण्डका हत्यारा पत्ता लगाएको अनुभव छ डा. सत्यालसँग ।
यस्तै दर्जनौ लागु औषध कारोबारी र लागु औषधको पत्ता पनि लगाएको छ नेपाल प्रहरीको कुकुरले । २०६५ मै नयाँ बसपार्कको बिन्धबासिनी र सुप्रिम गेष्ट हाउसमा गाँजासहित तीन जनालाई कुकुरले पक्राउ गरेको थियो । लागुऔषधको क्षेत्रमा पनि कुकुरले दर्जनौ अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको छ ।

विदेशी उच्च भीभीआइपीको सुरक्षा
२०७० सालमा पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको नेपाल भ्रमणका बेला लियो, मारियो र एक्सी कुकुरले सुरक्षा दिएका थिए । यस्तै २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि लियो, मारियो र एक्सले नै ‘स्नाफिङ’ गरेर सुरक्षा दिएका थिए ।

 

 

 

#बाह्रखरी

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १०:४५